मकर मेला व्यवस्थापनका लागि पूर्वाधार निर्माण, पाँच करोड बजेट विनियोजन — OSNepal

मकर मेला व्यवस्थापनका लागि पूर्वाधार निर्माण, पाँच करोड बजेट विनियोजन

LC (KTM) October 04, 2021 0

बनेपा, १८ असोज -पनौती नगरपालिका– ६ र ७ को सङ्गमस्थल त्रिवेणीघाटमा बाह्रवर्षमा लाग्ने मकर मेला आउन अब करिब चार महिना मात्रै बाँकी छ । मेलाका लागि यहाँ केही तयारी थालिएको छ ।मेला व्यवस्थापन एवं संरचना निर्माणका लागि नगरपालिकाबाट रु पाँच करोड बजेट विनियोजन गरी प्रवेशद्वार निर्माण, पुन्यमाता खोलामा बहने ढल व्यवस्थापन, अस्थायी शौचालय निर्माण, सरसफाइलगायत काम गरिएको नगरपालिकाले जनाएको छ ।

पुरातात्विक महत्वको मन्दिरै मन्दिरको सहर काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा बाह्र वर्षमा लाग्ने मकर मेलाका लागि बेहुली झैँ सिँगारिने भएको छ । मेला भर्न आउने भक्तजनका लागि सहज र व्यवस्थित गराउन मेला व्यवस्थापन समिति गठन गर्नाका साथै सम्बन्धित वडाले पनि आ–आफ्ना क्षेत्रभित्र आवश्यक तयारीका लागि छुट्टै योजना बनाएर अघि बढ्ने भएका छन् ।

“अहिले पूर्वाधार निर्माणको काम अन्तर्गत पुण्यमाता र रोशी खोलामा तीन बेलीब्रिज, नदीमा स्नानका लागि सिँढी, पानी ट्याङ्की, पैदलमार्ग र सवारीसाधनको वैकल्पिक मार्ग निर्माण गर्नाका साथै खोलालाई सुरक्षित राख्न ढल निकासको काम भइरहेको छ ।” नगर प्रमुख भिम न्यौपानेले भन्नुभयो, “पूर्वाधारको काम सकेपछि तिहार लगतै मकर मेला व्यवस्थापन समिति गठन गरेर आवश्यक थप कामका लागि योजना बनाएर अगाडि बढ्नेछौं ।”

मेला तयारीका लागि गत आर्थिक वर्ष रू पाँच करोड र चालू आर्थिक वर्षमा रू तीन करोड गरी रू आठ करोड निकासा गरी काम भइरहेकोे र यसका साथै सहरी विकास मन्त्रालयले रू एक करोड ५० लाख निकासा गरी खोला किनारामा सिँढी निर्माण र त्रिवेणीघाटलगायत आसपासमा सोलार बत्ती जडान गरिएको उहाँले बताउनुभयो ।

अहिले त्रिवेणीघाटकोे मन्दिर जीर्णोद्वार गर्नाका साथै छानामा सरसफाइ गर्ने काम भइरहेको छ ।मेला आयोजना गरिने प्रमुख स्थान त्रिवेणीघाटमा स्नान गर्न र माथि रहेको वडा नं ६ को गोरखनाथ मन्दिरसम्म आवतजावतमा सहज तुल्याउन तयारी भइरहेको छ ।
वडा नं ७ का बासिन्दा रत्नलाल जाकीबञ्जाराले मेला व्यवस्थापनका लागि काम गर्दा पहिलो प्रथमिकता फोहर व्यवस्थापनमा दिनुपर्ने बताउनुभयो । उहाँले पहिला पानी खान मिल्ने खोलामा अहिले अव्यवस्थित बजारका कारण ढल मिसाउनेदेखि जथाभावी फोहर फाल्ने गर्नाले निकै दूषित भएको छ भन्नुभयो ।

“रोशी ९लीलावती० खोलाको पानी कडा र पुण्यवती खोलाको पानी नरम हुने गरेको छ ।” उहाँले भन्नुभयो, “पहिलाको त्यस्तो खोला अहिले सफा हराभरा बनाउनका लागि स्थानीय सरकारले प्राथमिकता दिनुपथ्र्यो ।” वडा नं ७ का वडाध्यक्ष रामचन्द्र नास्नानीको गुनासो थियो, “नगरपालिकाले मेला व्यवस्थापन कार्यअन्तर्गत गरिरहेको काममा वडासँग समन्वय नै नगरी गरिरहेको छ ।”

“नगरपालिकाले आफ्नै ढङ्गले काम गरिरहेको मेला हुनेस्थल यही वडाभित्रै भएको र आफू पनि यहीको स्थायी बासिन्दा भएकाले समन्वय गरेर काम गरे अझ बढी प्रभावकारी हुन्थ्यो।” उहाँले थप्नुभयो, “बजेट पाएर काम गरेको भने पनि कहाँ कसरी काम भइरहेकोे छ भन्ने कुराको प्रष्ट जानकारीसमेत दिइएको छैन ।”

के हो मकर मेला रु-प्रत्येक बाह्रवर्षमा मकर सङ्क्रान्तिका दिनदेखि एक महिनासम्म आयोजना हुने मेला मकर मेला हो । माघ महिनाभर लाग्ने सो मेलामा नेपालबाट मात्रै नभइ भारतको उत्तर प्रयागबाटसमेत तीर्थालु स्नान गर्न आउने गर्छन् । मेलाको प्रमुखस्थल त्रिवेणीघाटमा स्नान गरी त्यहाँको जल हत्केलामा राखेर उत्तरपट्टी रहेको कुञ्जगिरि पर्वत अर्थात गोरखनाथडाँडामा रहेको गोरखनाथलाई चढाउनाले ठूलो पुण्य मिल्ने र मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।
लीलावती र पुण्यमाता खोलासँगै गोरखनाथ मन्दिरको मुनि रहेको ब्रम्हायणी मन्दिरभित्रबाट बग्नेबाहेक गुप्तरूपमा ब्रम्हायणी मन्दिरको तलबाट पद्मावती नदी बगेर मिसिएकाले त्रिवेणीघाट भनिएको हो । सो स्थलमा जन्मदेखि मृत्युसम्मका धार्मिक क्रियाकलाप गरिन्छ । राजा प्रताप मल्लले विसं १७२७ मा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्दा त्रिवेणीघाटको पनि जल पनि राखेको कुरा इतिहासमा उल्लेख छ ।

पनौती ‘सचि तीर्थ’-साविक पनौतीलाई सचि तीर्थधामको रुपमासमेत चिनिन्छ । रोशी खोलाको शिर नजिकै रहेको भालेश्वर मन्दिरदेखि त्रिवेणीघाटसम्म एकसय विभिन्न देवदेवीको मन्दिर भएका कारण मन्दिरैमन्दिरको सहरको रुपमा रहेको पनौतीलाई नेवारी भाषामा ‘सचि तीर्थ’ अर्थात एकसय वटा मन्दिर भएको सहरको रूपमा परिचित छ । यहाँका हरेक चोक र बाटामा समेत विभिन्न देवदेवीको मन्दिर छ ।

त्यससँगै सहरको विभिन्न स्थानमा निर्माण गरिएको पाटीमा समेत एउटा एउटा देवीदेवताको मन्दिर राखेर पूजा गर्ने व्यवस्था मिलाइएको थियो तर पछिल्लो समय तिनकोे उचित संरक्षण र प्रबद्र्धन हुन सकेको छैन । वडा नं ७ का सदस्य पुरुषोत्तम कर्माचार्यले पनौतीमा लाग्ने मेलामध्येकै सबैभन्दा ठूलो मेलाका लागि भौतिक पूर्वाधारदेखि अन्य काम भइरहेको बताउनुभयो ।

“कतिपय काम खोला निकारामै गर्नुपर्नेमा पानी परेर बाढी आएका बेलामा काम गर्नाका लागि सिँडी निर्माण गर्न बोलपत्र आह्वान भएपछि छिटै निर्माण थालिने छ ।” उहाँले भन्नुभयो, “त्यससँगै सो क्षेत्रमा हरेक शनिबार महिला समूहको नेतृत्वमा र वडा कार्यालयको अगुवाइमा पनि सरसफाइको काम भइरहेको छ ।” पछिल्लो समय खोलामा ढल मिसाउने भइरहेकाले अब त्यसलाई रोक्न नगर र वडाबाट पाउने सेवा सबै रोकिनेसम्मको निर्णय भएकाले अब खोलामा कसैले पनि फोहर गर्न नसक्ने सदस्य कर्माचार्यले बताउनुभयो ।

बसाइँ व्यवस्थापनमा समस्या-मेलामा आउने तीर्थालुका लागि बास बस्नाका लागि खासै तयारी भएकोे छैन । पनौती क्षेत्रमा पर्याप्त मात्रमा व्यवस्थित होटल नभएका कारण त्यसका लागि चासो दिनुपर्नेमा नदिइएको केही व्यक्तिको गुनासो थियो । यहाँ सञ्चालित केही होम स्टेले भने केही सेवा प्रदान गर्नसक्ने वडा कार्यालयले जनाएको छ । इन्द्रेश्वर मन्दिरका पूजारी शिवप्रसाद जङ्गमका अनुसार विगतमा मेलामा आउने तीर्थालुलाई घरमा बास बस्न दिनका साथै विभिन्न परिकार खुवाइन्थ्योे तर अहिले भक्तजनले त्यो सुविधा पाउने अवस्था छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर