कैलालीमा कोरोनाको सङ्क्रमण देखिएपछि बाँके र बर्दियामा उच्च सर्तकता



बाँके – कैलालीमा कोभिड–१९को सङ्क्रमण देखिएपछि प्रदेश ५ को सिमावर्ती जिल्ला बाँके र बर्दियामा उच्च सर्तकता अपनाइएको छ ।
दुवै जिल्ला भारतसँग सीमा जोडिएकाले नाकामा निगरानी बढाइएको छ । लुकिछिपी भारतबाट कसैलाई आउन नदिन सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तैनाथ गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो ।

नेपाल सरकारले निर्णय गरेको एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवतजावतलाई बन्दलाई अक्षरस कडाईका साथ कार्यान्वयन गर्दै लकडाउनलाई पनि प्रभावकारी बनाईएको छ । प्रमुख जिल्ला अधिकारी खड्काले गए राति देखि नै लकडाउनमा कडाई गरिएको जानकारी दिनुभयो । सो क्रममा प्रहरी परिचालन गरी लकडाउनलाई बेवास्ता गरी सडकमा निस्किएका ४ सय ४१ मोटरसाईकलको चावी नियन्त्रणमा लिईएको उहाँले बताउनुभयो ।

भारतसँग सीमा जोडिएका बाँकेका स्थानीय तह नरैनापुर, डुडुवा, नेपालगञ्ज, जानकी र खजुराले ग्रामिण नाकाबाट हुनसक्ने आवत–जावत रोक्नमा चासो देखाएका छन् । नेपालगञ्ज उपमहानगरपालिकासँग जोडिएको मुख्य सीमा नाका जमुनाह ठप्प भएपछि ग्रामिण नाकाबाट अवैध रुपमा समेत आवतजात हुनसक्ने भएकोले थप सतर्कता अपनाईएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।
जानकी गाउँपालिकाले साईगाउँ नाकामा आवत–जावतमा पूर्ण रुपमा बन्द गराएको छ । सशस्त्र प्रहरी र स्थानीय नेपाल प्रहरीको चौकीको सहायतामा रोकथाम कार्यलाई प्रभावकारी बनाईएको गाउँपालिका अध्यक्ष रामनिवास यादवले जानकारी दिनुभयो ।

कैलालीसँग सीमा जोडिएको बर्दियाको राजापुर र ठाकुरबाबा नगरपालिकाको सबै नाका बन्द गरिएकोे छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने बर्दियाको ठाकुरबाबा नगरपालिकाको कर्णाली चिसापानी पुल र कैलालीको लम्कीचुहा नगरपालिकासँग सीमा जोडिएको नाका बन्द गरिएको ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार, पैदल या गाडीमा हिँड्ने कसैलाई पनि प्रवेश गर्न नदिन आवश्यक पहल गएिको छ । कैलालीको टीकापुर सीमासँग जोडिएको हुलाकी सडकमा पर्ने बर्दियाको राजापुरले टिकापुरको सतिघाट पुल नाका बन्द गरेको छ ।

Comment