लकडाउन उल्लङ्घन गरी क्वारेन्टाइन पुर्याइएका २४ जना घर फिर्ता



हेटौँडा, २३ चैत – लकडाउन उल्लङ्घन गरी क्वारेन्टाइन पु¥याइएका २४ जना शनिबार घर पठाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, लिसङ्खुपाखर गाउँपालिका अध्यक्ष कमल नेपाल, सुरक्षा समितिले ग्रामीण महिला सिर्जनशीलमा रहेको क्षेत्रीय क्वारेन्टाइनबाट स्वास्थ्य जाँच गरी घर पठाइएको हो । उल्लङ्घनकर्तालाई सम्बन्धित वडाका अध्यक्षले नियमित स्वास्थ्य जाँच तथा सेल्फक्वारेन्टाइनमा बस्ने शर्तसहित जिम्मेवारी दिई पठाइएको जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिनुभयो ।

राजधानीका विभिन्न ठाउँमा पेशा व्यवसाय गरी बसेको प्रमाण जुटाई कोरोनासँग मिल्दो कुनै लक्षण नभेटिएको चिकित्सकको सिफारिसका आधारमा आ–आफ्नो घर पठाइएको तामाङले जानकारी दिनुभयो । उनीहरुलाई चैत्र २० गते लकडाउनको नियम मिचेर काठमाडौँबाट बाह्रबिसे जाँदै गर्दा तीन बलेरो पिकअपबाट नियन्त्रणमा लिई प्रहरीले क्वारेन्टाइन पु¥याएको थियो । २४ मध्ये एक जना चौतारा साँगाचोक गढी नगरपालिका, एक त्रिपुरा सुन्दरी गाउँपालिका र अधिकांश बाह्रबिसे नगरपालिकाका छन् ।

इन्द्रावतीले बनायो ५० लाखको कोष
कोरोना भाइरस सङ्क्रमण फैलन नदिनका लागि इन्द्रावती गाउँपालिकाले रु ५० लाखको कोरोना रोकथाम कोष बनाएको छ । कोरोना रोकथाम कोष नामाकरण गरी गाउँपालिकाले सङ्क्रमण फैलन नदिन रोकथाममा जुटेको हो ।

नेपालमा कोरोना सङ्क्रमण देखिनुअगावै गाउँपालिकाले आफ्नो क्षेत्रमा प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै प्रवेश दिन थालेको थियो । कोष खडा गर्न यो रकम पर्याप्त नभएकाले सङ्घीय, प्रदेश र विभिन्न स्रोत जुटाएर कोषको शुरुआत गरिएको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिनुभयो ।

गाउँपालिका राष्ट्रिय महासङ्घका महासचिवसमेत रहेका इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलालले विभिन्न स्वास्थ्य सामग्री खरिद गर्नेदेखि सङ्क्रमण फैलन नदिनका लागि पूर्वतयारीका लागि कोषको रकम खर्च गरिने जानकारी दिनुभयो । इन्द्रावतीले गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा पिपीइ, स्यनिटाइजर, मास्कलगायत सामग्री वितरण गरिसकेको छ ।

स्थानीयवासीको सहयोगमा अति विपन्नलाई राहत
इन्द्रावती गाउँपालिका–२ का स्थानीयवासीले वडाभरिका अतिविपन्न परिवारलाई खाद्य सामग्री सहयोग गरेका छन् । समाजसेवी मोहन गिरीको अगुवाइमा इन्द्रावती साना किसान कृषि सहकारी संस्थाको सहयोगमा अतिविपन्न ७५ परिवारलाई सहयोग गरिएको हो । आज सहयोग वितरणको शुभारम्भ गर्दै सहकारीका अध्यक्ष रामशरण गिरीले दैनिक गुजारा चलाउन समस्या भएका परिवारलाई सहयोग गरिएको बताउनुभयो ।

मोहन गिरीले रु ५० हजार सहयोग गर्नुभएको छ भने हीराबहादुर गिरी तथा रामेछापका बलराम खड्कालगायतले सहयोग उपलब्ध गराउनुभएको छ । अहिले ७५ परिवारलाई सहयोग गरे पनि आवश्यक परे अन्य परिवारलाई पनि सहयोग गर्न सकिने मोहन गिरीले जानकारी दिनुभएको छ । दैनिक ज्याला गरी छाक टार्न पर्ने परिवारका सदस्यले काम गर्न नपाउँदा समस्या भएको हुँदा ती परिवारलाई खाद्य सामग्री सहयोग गरिएको हो । चामल १५ केजी, दाल तेल, नुन, साबुन, चिनी चियापत्ती प्रदान गरिएको छ ।(रासस)

Comment