लकडाउनले छाक बसेका मजदूरलाई खाद्यान्न वितरण



पोखरा, २३ चैत – कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि सरकारले लकडाउन घोषणा गरेसँगै खाद्यान्न अभाव भएका मजदूर परिवारलाई यहाँको एक बैंकले राहत सामग्री वितरण गरेको छ । एनआइसी एशिया बैंकले गण्डकी प्रदेशअन्तर्गत पोखरा महानगरपालिका र नवलपुरको कावासोेती नगरपालिकामा दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्दै आएका एक सय ५० परिवारलाई रु दुई लाख ५० हजार बराबरको खाद्यान्न सहयोग गरेको हो ।

बैंकका प्रदेश कार्यालय प्रमुख दीपेन्द्र शर्माले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी रु दुई लाख र उपप्रादेशिक कार्यालय प्रमुख अशोक पन्तले कावासोती नगरपालिकाका उपप्रमुख चन्द्रा पुनलाई ५० हजार बराबरको खाद्यान्न ततः स्थानमा पुगेर हस्तान्तरण गर्नुभएको हो । संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत वितरण गरिएको राहतमा चामल, तेल, नुन, दाललगायत खाद्यान्न सामग्री वितरण गरिएको बैंकका प्रमुख दीपेन्द्र शर्माले जानकारी दिनुभयो ।

लकडाउनका कारण दैनिक छाक टार्न समस्या भएका परिवारलाई स्थानीय तहको सहकार्यमा राहत वितरण गरिने जानकारी दिँदै उहाँले प्रदेशका अन्य जिल्लामा समेत करीब पाँच लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री वितरण गर्ने तयारी भइरहेको स्पष्ट पार्नुभयो । बैंकले यसअघि काठमाडौँ तथा प्रदेश १ मा ज्याला मजदूरी गर्नेहरुका लागि रु पाँच÷पाँच लाख तथा सुदूरपश्चिम प्रदेशमा रु तीन लाख ७५ हजार बराबरको खाद्यान्न सामग्रीसमेत वितरण गरिसकेको उहाँको भनाइ छ । (रासस)

Comment