राप्रपाप्रति जनताको आकर्षण बढेको हो ? — OSNepal

राप्रपाप्रति जनताको आकर्षण बढेको हो ?

LC (KTM) October 05, 2021 0

पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथरले संस्थापक नेता पद्मसुन्दर लावतीको पदचिन्हमा पार्टीको आकार र प्रभाव बृहत बताउने कार्यदिशा लिएको छ ।
जिल्ला अधिवेशन सम्पन्न गरेसँगै पाँचथर जिल्ला कार्य समितिले यस्तो नीति अख्तियार गरेको हो । राप्रपाप्रति बढ्दो आकर्षण, पार्टीपंक्तिमा युवाहरुको बढ्दो सहभागितासँगै स्वर्गीय नेता लावतीको नेतृत्वमा खडा भएको आधार संरचनालाई सशक्त बनाउने निर्णय लिइएको हो ।

‘राप्रपाप्रति जनताको आकर्षण बढेर गएको छ । पार्टीको मुद्दाप्रति युवा तरुण र आम समाजको समर्थन बढेर गएको छ । देशको अवस्था, राष्ट्रियताको प्रश्न, भूराजनीतिक स्थिति, संविधान र पद्धति माथिको प्रश्न र नैराश्यता । यी सब कारणले गर्दा, वडादेखि केन्द्रसम्म महाधिवशेन सम्पन्न भएसँगै राप्रपाले देशमा फड्को मार्छ,’ कार्य सम्पादन सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष सगुन सुन्दर लावतीले जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै भने ।

‘एकताको लागि जित र हार भनेर विभाजनको रेखा कोर्नु हुँदैन, पार्टीलाई एक ढिक्का राख्नु पर्दछ । हार्नेलाई जित्नेले समेटेर लैजानु पर्दछ । प्रजातन्त्रको सौन्दर्य यही हो, हामी यही आदर्श अवलम्बन गर्छौ,’ जिल्ला सह–अध्यक्ष राजकुमार जोशीले भने ।

‘पार्टी र संगठनलाई नियमवद्ध रुपमा, सबैको सम्मान गरेर अघि बढाउनु पर्दछ । बहुलाएर जंगलमा स्याल दौडे जस्तो गरेर हुँदैन । हिजो पद्मसुन्दर लावतीको धोती समाएर फाइदा लुट्ने, पैसा कमाउनेहरुले आज मनपरी बोलेको सुहाउँदैन, जनताले पचाउँदैनन्,’ जिल्ला सदस्य गोपाल राईले भने ।

‘प्रजातान्त्रिक प्रक्रियाबाट अघि बढे मात्र पार्टीको संगठन सुढृद हुन्छ । वैकल्पिक प्रजातान्त्रिक शक्ति स्थापना गर्ने लक्ष्य प्राप्ति हुन्छ,’ जिल्ला सदस्य कमल चेम्जोङले भने ।

‘अध्यक्ष त्रयलाई विधान संचालनमा आइपरेको वाधा अड्काउ फुकाउने जिम्मेवारी छ । तीन जना अध्यक्षज्यूहरुले जिल्लामा अध्यक्ष र सह–अध्यक्षको जिम्मेवारी दिनु भएको छ, पारस्परिक परामर्श र समन्वय गरेर संगठन सुदृढ गर्ने निर्देशन दिनु भएको छ । जबकि पाँचथरका केही केन्द्रीय सदस्यहरु नै अध्यक्ष त्रयको निर्णय र निर्देशन विपरीत, विधानमा सह–अध्यक्ष छैन भनिरहेका छन् । पार्टीको, त्रय अध्यक्षको निर्णय नमान्ने, नबुझ्ने केन्द्रीय सदस्यहरुको के काम । दुख लाग्दो अवस्था छ,’ जिल्ला सदस्य कमल कुमार राईले भने ।

‘भाई फुटे गँवार लुटे हुन्छ । नेता जनताले बनाउने हो, आफुखुशी घोषणा गरेर मात्र पुग्दैन । बाँसको बोटमा बाँसै उम्रन्छ, मालिङ्गोको बोटमा मालिङ्गो,’ केन्द्रीय बुद्धिजीवी परिषदका केन्द्रीय सदस्य डा. डिल्ली चापागाईले भने ।

‘वार्ता र सम्वादबाट कायम भएको सहमति आरम्भबाटै तोड्ने काम भयो । पार्टीको पद पाउनेबाटै पदको दुरुपयोग भयो । विधि मिच्ने छुट कसैलाई छैन,’ जिल्ला सदस्य योगेन्द्र सिगुले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर