उपत्यकाबाट हराएका मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई — OSNepal

उपत्यकाबाट हराएका मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई

LC (KTM) October 05, 2021 0

काठमाडौँ, १९ असोज – ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट हराएका मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट हराएका १० मोटरसाइकल र ११ स्कुटर फेला पारेर आज सम्बन्धित धनीलाई बुझाएको हो ।

सो अवसरमा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले मोटरसाइकल हराउन नदिन सवारीधनी आफैँ विशेष चनाखो हुनुपर्ने बताउनुभयो । “उपत्यकाबाट हराएका अधिकाशं सवारीसाधन उपत्यकाका आसपासका इकालकामा फेला पर्ने गरेका छन्,” उहाँले भन्नुभयो । महाशाखाले सवारीसाधन चोरी गर्ने व्यक्तिलाई पक्राउ गरी मुद्दासमेत चलाउँदै आएको छ ।

स्कुटरको सवारी दर्ता किताब (बिलबुक) डिकिमै राख्ने चलनले गर्दा कतिपय चोरी भएका स्कुटर पनि बिलबुकका साथ खुलमखुला हिँड्ने गरेको उहाँको भनाइ थियो । पछिल्लो समय उपत्यकामा पल्सर मोटरसाइकल र डियो स्कुटर बढी चोरी हुने गरेको महाशाखाले जनाएको छ ।

चालू आर्थिक वर्षमा उपत्यकामा हराएका ३२६ मोटरसाइकल तथा स्कुटरमध्ये १४६ मोटरसाइकल तथा स्कुटर फेला पारिएको महाशाखा प्रमुख भट्टराईले बताउनुभयो । यस्तै महाशाखाले मोटरसाइकल चोरी कार्यमा संलग्न १९ जनालाई पक्राउ गरी मुद्दासमेत चलाइसकेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर