अमेरिकाको विन्टर फिल्म फेस्टिभलमा ‘कठपुतली’ ले जित्यो दुई अवार्ड — OSNepal

अमेरिकाको विन्टर फिल्म फेस्टिभलमा ‘कठपुतली’ ले जित्यो दुई अवार्ड

LC (KTM) October 05, 2021 0

नेपाली हरर फिल्म ‘कठपुतली’ ले अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा महत्त्वपूर्ण अवार्ड जित्न सफल भएको छ । सेप्टेम्बर २३ देखि अक्टोबर २ सम्म चलेको फेस्टिभलमा फिल्मले ‘बेस्ट हरर फिचर फिल्म’ र ‘इन्डी पिक्स अवार्ड’ जितेको हो । फेस्टिभलमा यो फिल्म ‘विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिसन’ विधामा छनोट भएको थियो । हरर विधातर्फ उत्कृष्ट बनेको यो फिल्मले जितेको ‘इन्डी पिक्स अवार्ड’अमेरिकाको ओटिटि प्लाटफर्ममा आधारित छ । यो अवार्ड जित्नु भनेको ‘इन्डी पिक्स’ नामक ओटिटि प्लाटफर्मले रिलीजको लागि अफर गर्नु हो । उक्त फेस्टिभलमा जम्मा चारवटा फिल्महरुले यो अवार्ड जितेका छन् ।

फिल्मले दुईवटा अवार्ड जितेकोमा निर्माता पृथ्वी राना मगरले खुसी व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय मञ्चमा लैजाने मेरो सपना अन्ततः पूरा भएको छ । यसका लागि मैले २० वर्षदेखि यात्रा सुरु गरेको थिएँ । कयौं पटक निराश पनि भएँ तर फिल्म निर्माणको जोश कहिल्यै कम भएन । यो अवार्डले फिल्म निर्माणमा थप हौसला दिएको छ ।’

फिल्मका निर्देशक भिमसेन लामाले यो सफलताको लागि आफुलाई बिश्वास गर्ने फिल्मको सम्पूर्ण टिम जिम्मेवार रहेको बताए । सम्पदा मल्लको कथा, पटकथा र संवाद रहेको फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ । फिल्मलाई चाँडै नेपालमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ । अवस्था सामान्य बन्दै गएकाले आगामी पुस–माघसम्म फिल्मलाई रिलिज गरिने निर्माता मगरले बताए । हरर फिल्ममा ‘कठपुतली’ ले एउटा इट्टा थप्ने उनको विश्वास छ ।

फिल्मको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको ‘कठपुतली’ अन्य हरर फिल्मभन्दा भिन्न रहेको निर्देशक भिमसेन लामाले बताएका छन् । उनी यो फिल्म आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताउँछन् । पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनको स्टूडियोमा भएको यो फिल्म प्रतिष्ठित ‘हर्टल्यान्ड इन्टरनेसनल फिल्म फेस्टिभल’मा समेत छनोटमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर