मझगाउँ विमानस्थल स्तरोन्नतिका लागि अढाई करोड रकम उपलब्ध — OSNepal

मझगाउँ विमानस्थल स्तरोन्नतिका लागि अढाई करोड रकम उपलब्ध

LC (KTM) October 05, 2021 0

कञ्चनपुर, १९ असोज- भीमदत्त नगरपालिकाले मझगाउँ विमानस्थल सञ्चालन र स्तरोन्नतिका लागि सम्झौताबमोजिमको रु दुई करोड ५० लाख नेपाल नागरिक उड्डययन प्राधिकरणलाई उपलब्ध गराएको छ ।यसअघि गत वर्ष रु एक करोड प्राधिकरणलाई उपलब्ध गराइएको थियो । नगरपालिकाले साझेदारीका लागि गरेको प्रतिबद्धता बमोजिम हालसम्म रु तीन करोड ५० लाख प्राधिकरणलाई बुझाएको छ । भीमदत्तले विमानस्थल सञ्चालनका लागि लाग्ने खर्चको १५ प्रतिशत साझेदारी गर्ने प्रतिबद्धता गरेको थियो । त्यसअघि यस वर्षको रकम प्राधिकरणमा पठाइएको छ ।

भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले विमानस्थल सञ्चालनका लागि नगरपालिकाले गरेको प्रबिद्धताअनुसारको साझेदारी रकममध्ये यस वर्ष रु दुई करोड ५० लाख पठाइएको बताउनुभयो । “नगरपालिकाले विमानस्थल सञ्चालानका लागि १५ प्रतिशत रकम साझेदारी गर्ने प्रतिबद्धता गरेको छ । त्यसअनुसार गत वर्ष र यस वर्षमा रकम पठाएका छौँ”, उहाँले भन्नुभयो, “यसपछि बाँकी रकम पनि पठाउँछौँ ।”

सुदूरपश्चिम प्रदेश र दोधारा चाँदनी नगरपालिकाले पनि विमानस्थल सञ्चालनमा साझेदारी गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले २५ प्रतिशत र दोधारा चाँदनीले १० प्रतिशत खर्चमा साझेदारी गरेका छन् । गत फागुन ३ गते सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय सरकार र मन्त्रालयबीच त्रिपक्षीय सम्झौता भएको थियो । विमानस्थल सञ्चालनमा ल्याउन चाहिने बाँकी ५० प्रतिशत खर्च प्राधिकरण आफैँले व्यहोर्न पर्नेछ । विसं २०५६ मा बन्द विमानस्थल पुनः सञ्चालनका लागि काम अघि बढेको छ ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्राविधिक समिति बनाएर विमानस्थल पुनः सञ्चालन अघि बढाएका थिए । त्यसपछि विमानस्थल संरक्षणका लागि तारबार गरिएको थियो । स्थानीय तहसहितले खर्च व्यहोर्न साझेदारी गरेपछि प्राधिकरणले ठेक्का आह्वान गरी पुनः सञ्चालन कार्य अघि बढाएको छ । विमानस्थल सञ्चालनका लागि एक हजार २०० मिटरको रनवेलाई एक हजार ६८५ मिटर पु¥याउनुपर्ने समितिले सुझाव दिएको थियो । ५० वर्षअघि सञ्चालनमा आएको विमानस्थल सशस्त्र द्वन्द्वकालमा बन्द भएपछि गौचरनमा परिणत भएको थियो ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धन, स्थानीयवासीलाई हवाई यातायात सुविधा र आर्थिक कारोबारका लागि विमानस्थल सञ्चालन हुनुपर्ने माग यहाँका व्यवसायीको रहँदै आएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर