यस बर्ष बडादसैँमा तलेजु मन्दिरभित्र नहुने भयो बलि पूजा — OSNepal

यस बर्ष बडादसैँमा तलेजु मन्दिरभित्र नहुने भयो बलि पूजा

LC (KTM) October 06, 2021 0

बडादसैँका अवसरमा भक्तपुर दरबार स्क्वायरस्थित तलेजु मन्दिरभित्र बलि पूजा नहुने भएको छ । नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा मङ्गलबार बसेको सरोकारवालाको बैठकले कोरोनाको सङ्क्रमण घट्दै गए पनि जोखिम पूर्णरूपमा नहटेको निष्कर्ष निकाल्दै तलेजुमा बलि पूजा नगर्ने निर्णय गरेको हो ।

“दसैँमा तलेजुमा पुजारीबाट आवश्यक पूजा मात्र गर्न दिने निर्णय गरेका छौँ”, बैठकपछि नगरप्रमुख प्रजापतिले भन्नुभयो । दसैँलाई सुरक्षितरूपमा मनाउन शान्ति सुरक्षाको व्यवस्थापन चुनौतीपूर्ण हुने बताउँदै नगरप्रमुख प्रजापतिले पूजाआजा नरोक्ने, भीडभाड हुन नदिने, सामाजिक दूरी कायम गर्ने र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने गरी मनाउन जनतालाई अह्वान गर्ने जानकारी दिनुभयो ।

बैठकले घटस्थापनादेखि विजयादशमीको दिनसम्म नगरका विभिन्न शक्तिपीठलगायत धार्मिकस्थलमा हुने मेला, पूजा र नवरात्रमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई भीडभाड नगर्न र सामाजिक दूरी कायम गरी कोभिड–१९ रोगको सङ्क्रमणबाट बच्न र बचाउन सम्पूर्ण नगरवासीलाई आह्वान गर्ने निर्णय भएको नगरप्रमुख प्रजापतिले बताउनुभयो ।

साथै उक्त बैठकले विजयादशमीको अवसरमा हुने सम्पूर्ण पूजाआजा, मेला, धार्मिक र सांस्कृतिक गतिविधि हुने सबै स्थानमा शान्ति, सुरक्षा र अन्य आवश्यक व्यवस्था मिलाउन जिल्ला प्रशासन, प्रहरी, वडा कार्यालय र स्थानीय टिम क्लबसँग सहकार्य गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले चाडपर्वमा कोभिड फैलने जोखिम बढी भएको बताउँदै स्थानीय तह, प्रशासन, प्रहरी प्रशासन र विभिन्न सङ्घसंस्थाको संयुक्त प्रयासबाट दसैँ शान्तिपूर्ण र सुरक्षित बनाउनुपर्नेमा जोड दिनुभयो । बैठकमा महानगरीय प्रहरी परिसर, नेपाली सेना, सशस्त्र प्रहरी, गुठी संस्थान भक्तपुरका प्रमुख र तलेजुका पुजारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर