आन्द्राको क्यान्सरबाट पीडित रहेकी म्याग्दीकी २१ वर्षीया विनिताको उपचारका लागि विदेशबाट आयो १५ लाख सहयोग — OSNepal

आन्द्राको क्यान्सरबाट पीडित रहेकी म्याग्दीकी २१ वर्षीया विनिताको उपचारका लागि विदेशबाट आयो १५ लाख सहयोग

LC (KTM) October 06, 2021 0

आन्द्राको क्यान्सरबाट पीडित म्याग्दीकी विनिताको उपचारका लागि देश–विदेशमा रहेका आफन्त र शुभेच्छुकबाट रु १५ लाख बढी आर्थिक सहयोग जुटेको छ । गत जेठमा मुख्य आन्द्रामा क्यान्सर देखिएपछि हाल बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचाररत शर्माको उपचारका लागि ज्यामरुककोट समाज नेपालको पहलमा आर्थिक सहयोग अभियान सञ्चालन गरिएको थियो ।म्याग्दीमा रही करिब २० वर्षदेखि पत्रकारिताको क्षेत्रमा सक्रिय पत्रकार धु्रवसागर शर्माकी २१ वर्षीया छोरी विनिताको उपचारका लागि ज्यारुककोट समाज नेपालको आग्रहमा जापान, अमेरिका, अष्ट्रेलिया, बेल्जियम, युएईलगायत देशमा रहेका विभिन्न व्यक्तिबाट रु ११ लाख १० हजार ६९० प्राप्त भएको पत्रकार शर्माले जानकारी दिनुभयो । सहयोग अभियानको संयोजन जापानमा सागर कार्की, अमेरिकामा सुरज थापा, अष्ट्रेलियामा प्रेम जिसी, बेल्जियममा रकेन्द्र घिमिरे र युएईमा प्रदीप सुवेदीले गर्नुभएको ज्यामरुककोट समाज नेपालका अध्यक्ष राम कार्कीले बताउनुभयो ।

त्यसैगरी म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोष, पत्रकार महासङ्घ, म्याग्दी मिडिया सोसाइटी, नेपाल प्रेस युनियन, बेनी नगरपालिका, प्रतिक्षा सुवेदी परोपकारी कोषलगायत विभिन्न व्यक्ति सङ्घसंस्था, देश–विदेशमा रहेका पत्रकार शर्माका पूर्वविद्यार्थी, आफन्त र शुभचिन्तकबाट गरी कूल रु १५ लाख ५२ हजार ७८० सहयोग जुटेको छ ।

अचानक आइपरेको अप्ठ्यारो अवस्थामा स्वतःस्फूर्तरुपमा सहयोग गरेर दुःख बाँड्नुका साथै छोरीको शीघ्र स्वास्थ्यलाभको कामनासहित आर्थिकरूपमा आफूलाई सहज बनाइदिएकामा सम्पूर्ण सहयोगदातालाई पत्रकार शर्माले धन्यवादसहित हार्दिक आभार व्यक्त गर्नुभएको छ । अहिले छोरी विनिताको अवस्था सुधारोन्मुख रहेको र उपचारका लागि आवश्यक रकम पनि जुटिसकेकाले तत्कालका लागि आर्थिक सहयोग सङ्कलन अभियानलाई स्थगन गर्न सम्पूर्ण सहृदयीजनप्रति पत्रकार शर्माले आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर