ईपीएल क्रिकेट : सानदार जितसँगै चितवन पहिलोपटक फाइनलमा — OSNepal

ईपीएल क्रिकेट : सानदार जितसँगै चितवन पहिलोपटक फाइनलमा

LC (KTM) October 06, 2021 0

काठमाडौं,२० असोज -सहज जितसहित चितवन टाइगर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा चितवनले पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेको हो ।

सुरुआती चार खेलमा जित निकाल्दै पहिलो चरणबाट शीर्ष स्थानमा रहेर क्वालिफायरमा पुगेको चितवन पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो ।

दोस्रो संस्करणमा स्थापित चितवनले यसअघिका दुई सिजनमा प्लेअफ यात्रा तय गर्न सकेको थिएन । यद्यपि, यो सिजनमा भने चितवनले अपराजित रहँदै प्लेअफमा स्थान बनाएको थियो भने पाँचौं खेलमा पराजित भएको थियो ।

आज भएको क्वालिफायरमा शानदार जित दिलाउन चितवनका लागि ओपनर मोहम्मद शहजाद र कासिम अनसारीले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरे । २६ बलको सामना गरेका शहजादले ७ चौका र २ छक्कासमेत प्रहार गरेका थिए । यस्तै आसिम अनसारी १४ र करिम जनत ४ रनमा अविजित रहे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १५ ओभरमा सबै विकेट गुमाएर चितवनसामु ६६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

पहिलो विकेटका लागि ३३ रनको सझेदारी गर्दै पोखराले सम्हालिएको सुरुआत गरेको थियो । ४.६ ओभरमा ओपनर रिचार्ड लेभीलाई गुमाएको पोखराले ४१ रनमा अर्का ओपनर सुनील धमलालाई गुमाएको थियो । त्यसपछि तीन रन जोड्दा चार विकेट गुमाएको पोखराका लागि अन्य ब्याट्म्यानले १० को आँकडा पार गर्नै मुश्किल परेको थियो ।

कप्तान तथा विकेटकिपर ब्याट्सम्यान विनोद भणडारी गोल्डेन डक हुँदा असेल गुणारत्ने १ रनमा पेभेलियन फर्के । यस्तै, सहान अराचिगे ३ रनमा आउट हुँदा विवेक यादव २, लोकश बम ५ र नन्दन यादव शून्य रनमा सीमित भए । यस्तै, सुशन भारी १२ रन बनाएर पेभेलियन फर्किँदा किशोर महतो रनमा अविजित रहे ।

कसिलो बलिङ गरेको चितवनका लागि सागर ढकालले ४ ओभरमा १४ रन मात्रै खर्चेर ४ विकेट लिए । यस्तै साहब आलमले पनि ४ ओभरमा ९ रन खर्चेर ४ विकेट चट्काए ।

पोखरालाई ६५ रनमा सीमित गरेसँगै चितवनले फाइनल पुग्नका लागि ६६ रनको लक्ष्य पाएको छ ।पराजित पोखराले दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्नेछ । आज नै एलिमिनेटरमा काठमाडौं किङ्स-११ र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ । यस खेल दिउँसो १:३० बजे सुरु हुनेछ ।

शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा तेस्रो र सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले चौंथो स्थानमा रहदै एलिमिनेटर खेल्न लागेको हुन ।प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर