बुढेशकालमा पाँच अपाङ्ग छोराछोरी हेरचाहमा व्यस्त छन् सृजना — OSNepal

बुढेशकालमा पाँच अपाङ्ग छोराछोरी हेरचाहमा व्यस्त छन् सृजना

LC (KTM) October 06, 2021 0

मोरङ, २० असोज- मोरङ रतुवामाई—८ सिकिम्मेकी सिर्जना घिमिरे बुढेशकालमा पनि पाँचजना जवान छोराछोरीको हेरचाहमा व्यस्त छिन् । ३९ वर्षीया निर्मला, ३७ वर्षीय निर्मल, ३३ वर्षीय उमेश, २४ वर्षीया पार्वता र २३ वर्षीया गोमा शारीरिक रूपमा अपांगता भएपछि उनीहरूको हेरचाहमा सिर्जना व्यस्त रहेकी हुन् ।

श्रीमान् तुलसीराम ढुंगानाको निधनपछि अपांगता भएका छोराछोरीको स्याहारसुसार मात्र होइन पालनपोषणको जिम्मेवारी समेत सिर्जनाको काँध परेको छ ।

सुस्त मनस्थितिका छोराछोरीको हेरचाह गर्नुपर्ने र घर व्यवहार धान्नुपर्ने सिर्जनाले भनिन्, ‘छोराछोरीले जे भेट्यो त्यही खान्छन्, सामान तोडफोड गरिदिने र जहाँ पायो त्यहीँ बस्ने, दिसा, पिसाब गरेको पनि थाहा पाउँदैनन् ।’ उनीहरूकै हेरचाहमा दिन बित्ने उनी बताउँछिन् । ‘पाँच अपांग छोराछोरी स्याहार्दै दिन जान्छ’, गहभरि आँशु पार्दै सिर्जनाले भनिन्, ’कतै निस्कन नै मिल्दैन ।’

आफू पनि बिरामी रहेको बताउने सिर्जना छोराछोरीको स्याहार र पालनपोषण गर्न निकै गाह्रो भइरहेको दुखेसो पोख्छिन् । ‘शरीरमा बल हराइसकेको छ, मेरो पाठेघरको अप्रेसन गरिएको छ, स्वयं आफैँ रोगी भएकाले छोराछोरी सम्हाल्न गाह्रो भयो,’ सिर्जनाले भनिन् ।

पाँचैजना छोराछोरी जन्मजात सुस्त मनस्थितिका छन् । आवाज निकाले पनि बोलेको प्रष्ट बुझिँदैन । सिर्जनाले छोराछोरीका लागि भएभरको सम्पत्ति सकिसकेका बताइन् ।

खानासमेत खुवाइदिनुपर्ने छोराछोरीको स्याहार कसरी गर्ने भन्ने चिन्ताले सिर्जनालाई सताउन थालेको छ । ‘एकछिन छोड्यो भने खानेकुरासमेत पोखिदिन्छन्, खाना पनि समातेर खुवाउनु पर्छ । एकैपटक खुवाउन सकिन्न, अब त ज्यानमा तागत पनि छैन । अबका दिनमा यिनलाई कसले स्याहार गरिदेला’, उनले भनिन् ।
सरकारबाट सहयोग पाए छोराछोरीलाई पाल्न सहज हुने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर