दशैँमा नयाँ नोट चलाउन नपाउने, पुराना नोट पनि पर्याप्त छैनन् — OSNepal

दशैँमा नयाँ नोट चलाउन नपाउने, पुराना नोट पनि पर्याप्त छैनन्

LC (KTM) October 06, 2021 0

सोलुखुम्बू, २० असोज । सोलुखुम्बूवासीले यस वर्षको दशैँमा नयाँ नोट नपाउने भएका छन् । सोलुवासीसँगै माथिल्लो सगरमाथाका तीन जिल्लासहित उदयपुरमा समेत नयाँ नोट नआउने भएको हो ।

नेपाल राष्ट्र बैंकले ४ असोजदेखि नै देशभरका शाखा बैंकबाट नयाँ नोट लिन सक्ने व्यवस्था गरे पनि यी चारवटा जिल्लामा भने नयाँ नोट नआएको सम्बन्धित बैंकहरूले जनाएका छन् ।

नयाँ नोटका लागि बैंकमा ग्राहकको भीड लाग्ने भए पनि नयाँ नोट नहुँदा समस्या भएको राष्ट्रिय वाणिज्य बैंक सल्लेरीका प्रबन्धक चित्र खड्काले बताए । नयाँ नोट नआउँदा र पुरानो खुद्रा रकमसमेत नहुने उनको भनाइ छ ।

यस्तै, नयाँ नोटको माग अत्यधिक भएको राष्ट्रिय वाणिज्य बैंक ओखलढुंगाका निमित्त शाखा प्रबन्धक राजेश झाले बताए । स्टक रकम भएकाले राष्ट्र बैंकले नयाँ नोट नपठाउँदा ग्राहकलाई रित्तो हात फर्काउन बाध्य भएको उनको भनाइ छ ।

खोटाङ र उदयपुरमा पनि नयाँ नोट नआउँदा समस्या भएको बताइएको छ । नयाँ नोट लिनका लागि बैंक पुगेकाहरूलाई पुरानो नोट दिएर पठाउने गरेको राष्ट्रिय वाणिज्य बैंक खोटाङका शाखा प्रबन्धक काजी बस्नेतले जानकारी दिए ।

यता, नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले भने यस विषयमा आफू जानकार नभएको प्रतिक्रिया दिएका छन् । विराटनगरमा रहेको राष्ट्रिय वाणिज्य बैंकसँग तत्काल जानकारी लिएर नोट पठाउने व्यवस्था गरिने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर