पोखराका ठेगदारको यस्तो चरम लापरवाही, २० महिनामा दुई किलोमिटर सडक कालोपत्रे भएन — OSNepal

पोखराका ठेगदारको यस्तो चरम लापरवाही, २० महिनामा दुई किलोमिटर सडक कालोपत्रे भएन

LC (KTM) October 06, 2021 0

तनहुँ, २० असोज । भिमाद नगरपालिका- ९ चिहानडाँडाबाट मोहोरिया पुग्ने कच्ची सडक कालोपत्रे गर्न सम्झौता भएको २० महिना भयो । १६ माघ २०७६ मा सम्झौता भई काम सुरु भएको हो । दुई किलोमिटर ३०० मिटर सडक सोही आर्थिक वर्षको १ असारमा सम्पन्न गर्नलाई सम्झौतामा म्याद तोकिएको थियो । तर, ठेकेदारले सडक कालोपत्रेको काम सम्पन्न नगरी अलपत्र पारेर छाडेको छ ।

अमर कन्स्ट्रक्सन पोखराले ठेक्का लिएको सडक कालोपत्रे हुन नसकेको हो । गण्डकी प्रदेश सरकार र भिमाद नगरपालिकाले ५०/५० प्रतिशत लागत साझेदारीमा सडक कालोपत्रेको काम अगाडि बढाइएको थियो । उक्त सडकमा नाला र ग्याबिन जाली राख्ने मात्र काम भएको भिमाद नगरपालिकाका इञ्जिनियर युकेश श्रेष्ठले बताए । श्रेष्ठका अनुसार निर्माणस्थलमा ३५ प्रतिशत कार्य प्रगति देखिन्छ । ‘अहिले फिल्डमा कामदार छैनन् । ठेकेदारलाई फोन गरेर बोलाउँदा आँउछु भन्ने जबाफ मात्र पाइन्छ’, उनले भने ।

एक करोड ९९ लाख ८० हजार रुपैयाँ लागत अनुमान गरिएकामा अमर कन्स्ट्रक्सनले एक करोड ३३ लाख १० हजार रुपैयाँमा ठेक्का लिएको थियो । ५६ लाख २५ हजार रुपैयाँ भुक्तानी भएको इञ्जिनियर श्रेष्ठले बताए । गत वर्ष असारमा म्याद सकिएपछि मंसिरसम्मलाई थप भएको थियो । मंसिरमा पनि सम्पन्न नभएपछि फेरि वर्ष दिनको म्याद बढाइयो । थपिएको म्यादमा पनि सडक निर्माण सम्पन्न हुन्छ भन्नेमा विश्वस्त नरहेको स्थानीय बताउँछन् ।

ठेकेदार अहिले स्थानीयको सम्पर्कमै नरहेको बाबुराम रानाले बताए । ‘आवश्यक कामदार ल्याएर काम गर्ने हो भने धेरै समयको काम होइन । बढीमा डेढ महिनामा सकिन्छ होला । अहिले ठेकेदार सम्पर्कमै छैनन्’, भिमाद नगरपालिका- ९ का वडा सदस्यसमेत रहेका रानाले भने । बेलामै सडक कालोपत्रे नहुँदा मोहोरियाको भाइरल घाङ्च ल्हुम पुग्ने पर्यटकले सास्ती भोग्नुपरेको उनले बताए ।

मोहोरियाको डुमडुम सामुदायिक वनमा रहेका अग्ला ढुंगालाई सिँगारेर चिटिक्कको पार्क बनाइएको छ । गत महिना घाङ्च ल्हुम पुग्ने पर्यटकको भीड लागेको थियो । तर, घाङ्च ल्हुम पुग्ने सडक ठिक नहुँदा विस्तारै पर्यटक घटेका छन् ।

उक्त सडकको ट्र्याक माओवादी शान्ति प्रक्रियामा आएपछि खोलिएको हो । एक दशकपछि सडक कालोपत्रे गर्नलाई शिलान्यास हुँदा चिल्लो सडकमा सवारीमा आरामले आउजाउ गर्ने सपना देखेका स्थानीयमा निराशा छाउन थालेको छ । ठेकेदारले लापरवाहीले जिल्लामा सडकलगायत धेरै योजना अलपत्र छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर