सीता भण्डारी मृत्यु प्रकरण: श्रीमान्, जेठाजु र आमाजू पुर्पक्षका लागि थुनामा — OSNepal

सीता भण्डारी मृत्यु प्रकरण: श्रीमान्, जेठाजु र आमाजू पुर्पक्षका लागि थुनामा

LC (KTM) October 07, 2021 0

बुटवल – रूपन्देहीको तिलोत्तमा नगरपालिका- ५ की २७ वर्षीय सीता भण्डारी पौडेलको मृत्यु प्रकरणमा जिल्ला अदालत रूपन्देहीले तीन जनालाई थुनामा राख्ने आदेश दिएको छ ।आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका मृतक सीताका श्रीमान्, जेठाजु र आमाजूलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश अदालतले दिएको हो । बुधबार भएको थुनछेक बहसपछि मृतकका श्रीमान् टीका पौड्याल, जेठाजु हरि पौड्याल र दिदी विष्णु पौड्याललाई पुर्पक्षका लागि थुनामा पठाइएको हो ।

अदालतले दिएको आदेशबमोजिम तीनै जनालाई जिल्ला कारागार भैरहवा चलान गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए । तत्काल प्राप्त प्रमाणका आधारमा निर्दोष नदेखिएको ठहरसहित अदालतले तीनै जनालाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।भण्डारी गत २० भदौमा आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । पोस्टमार्टम रिपोर्टमा सीताले झुण्डिएर आत्महत्या गरेको देखिए पनि माइती पक्षले भने सीताको हत्या भएको बताएका थिए ।

छोरीको हत्या नै भएको भन्दै मृतकका बाबु हरिप्रसाद भण्डारीले बुटवल इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । इलाका प्रहरी कार्यालय बुटवलले किटानी जाहेरी लिन नमानेपछि आन्दोलन सुरु भएको थियो ।आन्दोलन सुरु भएपछि आत्महत्या दुरुसाहनको मुद्दा दायर गर्न लगाइएको थियो । लगत्तै आरोपित श्रीमान् टीका पौड्याल, उनकी दिदी विष्णु पौड्याल, जेठाजु हरि पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । मृत्यु भएको करिब एक महिना हुन लाग्दासमेत मृतकको शव उठेको छैन ।

भण्डारी परिवारमा सम्पत्ति बेचबिखनबारे लामो विवाद थियो । त्यो विवाद उत्कर्षमा पुगेपछि सीताले आत्महत्याको बाटो रोजेको प्रहरीले जनाएको छ । टीका र सीता पाल्पामा रिसोर्ट संचालन गर्दै आएका थिए । त्यही रिसोर्ट बिक्री गर्ने कि नगर्ने भन्ने विषयमा परिवारमा विवाद थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर