विजयादशमीसँगै जनकपुरधाममा बढ्यो चहलपहल — OSNepal

विजयादशमीसँगै जनकपुरधाममा बढ्यो चहलपहल

LC (KTM) October 07, 2021 0

जनकपुरधाम, २१ असोज -विजयादशमीको सुरुवातसँगै धार्मिक पर्यटकीय शहर जनकपुरधामका शक्तिपीठहरूमा श्रद्धालु भक्तजनहरूको चहलपहल बढेको छ ।

मिथिला सांस्कृतिक केन्द्रको उद्गम स्थलको रूपमा मानिएको जनकपुरधाममा रहेका मठमिन्दर तथा विभिन्न देवी-देवताका शक्तिपीठहरू अहिले आकर्षक ढंगले सजाइएका छन् । यहाँका मुख्य शक्तिपीठ राजदेवी मन्दिर, बौद्धीमाई मन्दिर, दुर्गा मन्दिरलगायतलाई सरसज्जा गरी अकर्षक बनाइएको छ ।

त्यसैगरी प्रत्येक वर्ष विजयादशमीकै अवसरमा स्थानीय रामानन्द चोक, भ्रमरपुरा चोक, विद्यापति चोक र ब्रह्मर्षि चोकलगायतका स्थानमा नवदुर्गाको प्रतिमा बनाएर विशेष प्रकारले पूजाआजा गर्ने र मेला लगाउने गरिन्छ । भव्य टेन्ट पण्डालले मन्दिरकै आकार दिई दशैँभरि यी स्थानहरूमा विशेष पूजा गर्ने चलन छ ।

कोभिडका कारण लामो समय बन्द रहेको नेपाल-भारतको सीमा केही दिनअघिदेखि खुलेपछि जनकपुरधाममा भारतीय धार्मिक पर्यटकको आवागमनसमेत बढेको छ ।

दशैँको अवसरमा जनकपुर उद्योग वाणिज्य संघले लगाउने सस्तो बजार यसपालि पनि लगाइएको छ । बजारभन्दा सस्तो दरमा घरायसी समानदेखि जुत्ता, चपल्लसहितका सामानहरू पाइने भएकाले ग्रामीण क्षेत्रबाट पनि दैनिक हजारौँको संख्यामा सर्वसाधारण जनकपुरधाम आउने गर्छन् ।

बजारमा चहलपल बढे पनि कोभिडका कारण सुस्त अवस्थामा रहेको जनकपुर बजारको व्यापारमा खासै सुधार नआएको स्थानीय व्यापारीहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर