कोरोना विशेष अस्पताल बेलझुण्डीलाई तुलसीपुरमा सारियो — OSNepal

कोरोना विशेष अस्पताल बेलझुण्डीलाई तुलसीपुरमा सारियो

LC (KTM) October 08, 2021 0

दाङ, २२ असोज – कोरोना विशेष अस्पताल बेलझुण्डीलाई आज राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सारिएकोे छ । भौतिक संरचना निर्माण सम्पन्न भएपछि अस्पताललाई तुलसीपुरमा सारिएको होे । तुलसीपुरमा कोरोना छुट्टै इकाइको स्थापना गरी सो अस्पताललाई हस्तान्तरण गरिएको छ । सो कोरोना एकाइको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले उद्घाटन गर्नुभयो ।

कोभिडको सम्भावित तेस्रो भेरियन्टलाई मध्यनजर गरेर बालबालिका उपचार इकाइसहित, आइसियु, एनआइसियु, अक्सिजन प्लान्टसहित कोरना उपचार सेवा सुरु गरिएको उहाँले बताउनुभयो । नगरप्रमुख पाण्डेले अब कोरोनाको सबै उपचार यहीबाट हुने उल्लेख गर्दै कोरोना उपचारमा अहोरात्र खट्ने चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक र नेपाल संस्कृत विश्वविद्यालय, केन्द्रीय आयुर्वेदिक चिकित्सा अध्ययन संस्थानलाई बेलझुन्डीलाई कोरोना विशेष अस्पताल सञ्चालनमा सहयोग गरेको धन्यवाद व्यक्त गर्नुभयो ।

भौतिक संरचना अभावका कारण लुम्बिनी प्रदेश सरकारले बेलझुन्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद चिकित्सा अध्ययन संस्थानको भवनमा गत वर्ष कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको थियो । साविकका राप्ती पाँच जिल्लाका नागरिकलाई लक्षित गरी स्थापना गरिएको सो अस्पतालबाट दैनिक दुई हजार बढी कोरोनाका बिरामीले सेवा पाएका थिए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर