बोर्डर नखुलेपछि बढ्यो च्याङ्ग्राको भाउ, एउटैलाई आधा लाख — OSNepal

बोर्डर नखुलेपछि बढ्यो च्याङ्ग्राको भाउ, एउटैलाई आधा लाख

LC (KTM) October 08, 2021 0

पोखरा, २२ असोज-नेपालको उत्तरी नाका डेढ वर्षदेखि ठप्प छ । माथिल्लो मुस्ताङ, गोरखालगायतका हिमाली क्षेत्रको दैनिकी नै नाकाले मुस्किल बनाइरहेको छ । नाका बन्द भएपछि हिमाली जनजीवन मात्र होइन, नेपालका पहाडी र शहरियाहरूको भान्सा पनि महँगो भएको छ ।

सधैँजसो च्याङ्ग्राले दशैँ मनाउने पोखरा र आसपासका उपभोक्तालाई यस वर्ष च्याङ्ग्राको मूल्य सुनेरै तर्सिनुपर्ने अवस्था आएको छ । यस वर्ष तिब्बततिरबाट भेडा, च्याङ्ग्रा झरेनन् । मुस्ताङका किसानको गोठमा भर पर्दा भाउ महँगो भएको व्यवसायीहरू बताउँछन् ।

तिब्बतबाट च्याङ्ग्रा नआएपछि स्थानीय किसानले भाउ ह्वात्तै बढाए । ‘गोठमै महँगो छ । बाटोमा भेटेरिनरी कर, पालिकाको कर तिर्दै ल्याउँदा मुल्यले आकाश छोयो’, व्यापारी गंगा केसीले भने, ‘मुस्ताङबाट पोखरा झार्न मात्र ११ दिन लाग्छ । हाम्रो दु:ख छाडेर बेच्दा पनि बिक्न गाह्रो छ ।’

उनले मात्र २०० वटा भेडा, च्याङ्ग्रा झारेका छन् । रोजेर लिने च्याङ्ग्राको मूल्य न्यूनतम ४७ हजार रुपैयाँ पर्ने उनले सुनाए । ‘गोठमै ४१ हजार भन्छन् । सबै खर्च कटाउँदा ५० हजार नाघ्छ’, उनले थपे, ‘मूल्य भन्दा पनि डराउनुपर्ने अवस्था आएको छ । उपभोक्ता मूल्य सुन्दै फर्किँदै गर्नुहुन्छ ।’

अघिल्लो वर्ष २८ हजार रुपैयाँ हाराहारी पर्ने मूल्य झण्डै उत्ति नै महँगिएको छ । दशैँ लक्षित भेडा, च्याङ्ग्रा पोखरा भित्रिन थालिसकेका छन् । हेमजा र याम्दी क्षेत्रमा मुस्ताङ, हुम्ला, मुगु, डोल्पा, बझाङलगायत जिल्लाबाट भेडा, च्याङ्ग्रा आउँछन् । यस वर्ष मुस्ताङबाट मात्र करिब १२ हजार भेडा, च्याङ्ग्रा बाहिरिएको जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जानकारी दिएको छ । हिमाली क्षेत्रमा पालिएका भेडा, च्याङ्ग्रा बढी स्वादिला हुने भएकाले उपभोक्ताको रोजाइमा पर्छन् ।

माग बढी भएकाले मूल्य बर्षेनि थपिँदै गएको हो । ‘यस साल दशैँमा च्याङ्ग्रा लिन हामी जोकोहीलाई मुस्किल पर्ने अनुभव गर्दै छु । मूल्य सुनेर त्यतिकै फर्केको छु’, पोखराका देवेन्द्रकुमार शेरचनले च्याङ्ग्राको फोटो फेसबुकमा हाल्दै भने, ‘पछि सस्तियो भने किन्लान्, नत्र धेरै उपभोक्ता मूल्य सुनेरै फर्किनुपर्ने अवस्था छ ।’

पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीले बिहीबार भेडा, च्याङ्ग्राको अनुगमन र स्वास्थ्य जाँच गराएको छ । ‘सबैजसो भेडा, च्याङ्ग्रा निरोगी छन् । मूल्य भने साह्रै महँगो भएछ’, अधिकृत सुरेश श्रेष्ठले भने, ‘मूल्य निर्धारण हामीले गर्ने अधिकार छैन । व्यापारीहरूले माथि नै धेरै मूल्य हालेको गुनासो गरेका छन् ।’

पोखरामा यस वर्ष पाँच हजार खसी-बोका दशैँका लागि आवश्यक पर्ने खसी-बोका व्यवसायी संघ कास्कीको अनुमान छ । खसी-बोकाको भने अभाव नरहेको संस्थाका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले बताए । ‘आवश्यक पर्ने खसी-बोकाको जोहो भइसकेको छ । अहिले बजारमा आठ हजारजति खसी-बोका छन् । अझै चार हजारजति आउँदै छन्’, उनले भने, ‘च्याङ्ग्रा महँगो भए उपभोक्तालाई विकल्प खसी-बोका छ । यसको मूल्य बढेको छैन ।’पोखरामा नवलपुर, तनहुँ, पाल्पा र स्याङ्जाबाट खसी-बोका ल्याइन्छ । दाङ र धादिङदेखिका खसी-बोका पनि आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर