प्रसिद्ध देवी सोनामाई मन्दिरमा भूतमेला सुरु — OSNepal

प्रसिद्ध देवी सोनामाई मन्दिरमा भूतमेला सुरु

LC (KTM) October 10, 2021 0

महोत्तरी, २४ असोज – जिल्लाको प्रसिद्ध देवी शक्तिपीठ सोनामाई मन्दिरमा भूतमेला सुरु भएको छ । औरही नगरपालिका–७ भोइलस्थित सोनामाई मन्दिरमा नवरात्रको पाँचौँ दिन (पञ्चमी तिथि)मा सुरु हुने सो मेला तिथिको घटबढले चौथौ दिन आजै सुरु भएको हो । बिहान सूर्योदयपछि सात घडी १३ पला बितेसँगै पञ्चमी तिथि भएकाले आजै मेला प्रारम्भ भएको मन्दिर व्यवस्थापन समितिले जनाएको हो । तिथिको भोगअनुसार आज बिहान ८ बजेपूर्व नै पञ्चमी प्रारम्भ भएको मैथिल कर्मकाण्डका ज्ञाताले बताएका छन् ।

नवरात्रको पञ्चमीदेखि नवमीसम्म आयोजना गरिने मेलामा दुष्टात्माबाट सताइएका भक्तजनले देवीसँग कष्ट निवारणका लागि पुकार गर्छन् । भूतप्रेत, बोक्सा–बोक्सी र दुष्टात्माले सताइएका भक्तजन देवीको दर्शन र पुकार पछि निको भएर जाने गरेका विश्वास गरिन्छ । वर्षौँदेखि भूत, पिसाच, जादु र टुनाको कुचक्रका साथै बोक्साबोक्सीबाट सताइएकाहरू जीवन र मृत्युको दोसाँधमा परेपछि सोनामाईको सीमा क्षेत्रमा पुग्नासाथ कसबाट सताइएको हो आफैँ बक्ने गरेको देखिन्छ । यस्ता दुःखीहरु देवीको शक्तिले मन्दिर सीमा क्षेत्रमा प्रवेश गरेलगत्तै लड्दै, रुँदै, हाँस्दै र विभिन्न असमान्य गतिविधि देखाउँदै मुख्य मन्दिरमा पुगेपछि सोनामाईको कृपाले निको भएर घर र्फकने गरेका मन्दिरका मुख्य पुजारी केदार झा बताउनुहुन्छ ।

पञ्चमीदेखि नवमी तिथिभरि रहने मेलामा प्रदेश नं २का र छिमेकी मुलुक भारतको सीतामढी, मधुवनी, चम्पारन, शिवहर र मुजफ्फरपुर जिल्लाका भक्तजनको घुइँचो लाग्ने गरेको छ । दुष्टात्माका कारण रातदिन दुःखी र पीडित भएका कारण पीडितहरू देवीको कृपाले निको भएर हाँस्दै घर फर्कने गरेका भोइलवासी बताउँछन् ।

सोनामाई शक्तिपीठमा दर्जनाँै धामी झाँक्री रातदिन भजनकीर्तन र भूत भगाउने काममा तल्लिन रहन्छन् भने यस अवधिमा माता दुर्गा यहाँ प्रत्यक्ष विराजमान भएर पीडितको कष्ट निवारण गर्नुहुने मुख्य पुजारी झाको भनाइ छ । माताको दरबारमा एकपटक पुग्ने पीडितको शरीरमा फेरि कहिल्यै पनि यस्तो असर नहुने जनविश्वास छ ।

मेलाको परम्परागत र सांस्कृतिक महत्व भए पनि भूतमेलासँग जोडिएर आउने बोक्साबोक्सी र कथित दुष्टात्माको कुरा भ्रममात्र भएको नयाँ पिँढीका व्यक्ति बताउँछन् । बडादसैँ पर्वमा देवी दुर्गाको महत्ता उजागर हुनु तथा मातृसत्ताप्रति श्रद्धाभाव जगाइनु राम्रो र उन्नत संस्कार भए पनि यससँग जोडेर भूतप्रेत, बोक्साबोक्सीजस्ता अन्धविश्वासको पछि लाग्नु समाजको अग्रगतिका लागि बाधक रहेको नयाँ पिँढीका युवाको भनाइ छ । मेलाको यो पक्षलाई परिस्कार गरिनुपर्ने भङ्गाहा–४ का युवा देवनाथ सिंह बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर