भारतीय चेलीलाई हेप्ने भन्दै संसदमा गर्जिइन् सरिता गिरी, नेकपा सांसद गंगा चौधरी बिरुद्ध यसरी खनिइन् गिरी



काठमाडौं, २३ जेठ ।समाजवादी पार्टीकी सांसद सरिता गिरीले सांसदबाट आफ्ना विरुद्ध सदनमा अभिव्यक्त भनाईलाई संसदीय रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएकी छिन् । संसदमा ‘भारतीय चेली’ शब्द प्रयोग गरिएको विषयमा विवाद चर्किएको हो । । प्रतिनिधि सभामाको शुक्रबार बसेको बैठकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले नेकपाकी सांसद गंगा चौधरीलाई इंगित गर्दै ‘भारतीय चेलीको दादागिरी’ शब्दप्रति आपत्ति जनाउनुभएको छ ।

यसअघि जेठ १९ गतेको संसद बैठकमा सांसद गंगा चौधरीले ‘संसदमा भारतीय चेलीहरूको दादागिरी चल्न थालेको’ भन्दै कडा टिप्पणी गर्नुभएको थियो । उहाँले नेपालद्वारा हालै जारी गरिएको नयाँ नक्साबारे नेपालले कसैलाई सोध्नु नपर्ने तर्क गर्दै कसैको नाम नलिएर संसदमा समेत भारतीय चेलीहरूको दादागिरी चल्न थालेको बताउनुभएको थियो । उहाँको लक्ष्य सरिता गिरी तर्फ नै रहेको भन्दै मिडियामा समाचार छाएका थिए ।

सोही विषयमा शुक्रबारको बैठमा सांसद गिरीले सांसद चौधरीलाई इंगित गर्दै उक्त शब्द फिर्ता लिन या संसदको रेकर्डबाट हटाउन माग गर्नुभएको हो । यद्यपि चौधरीको नाम नलिएरै सांसद गिरीले उक्त अभिव्यक्ति ‘हेट स्पिच’ रहेकोले सो अभिव्यक्तिविरूद्ध कानुनी प्रक्रिया अपनाउनुपर्ने बताउनुभयो ।

उहाँले जेढ १९ को बैठकमा आफूले दिएको अभिव्यक्ति तोडमोड भएर मिडियामा गएको बताउनुभयो । ‘भारत र चीनसँग नेपालले संवाद गर्नुपर्ने’ अभिव्यक्ति दिएको तर मिडियाहरूले इस्यु बनाएर ‘भारतलाई नसोधीकन नक्सा बनाउने रु’ भन्ने आशयको धारणा बाहिर गएको उहाँको भनाइ थियो ।

शुक्रबारकै बैठकमा राष्ट्रिय जनता पार्टीकी सांसद अमृता अग्रहरीले पनि सांसद गंगा चौधरीले प्रयोग गरेको शब्दप्रति पार्टीको ध्यानाकर्षण भएको बताउँदै चौधरीले माफी माग्नुपर्ने धारणा राख्नुभयो ।