कालापानी, लिपुलेक र लिम्पियाधुरावासीसँग भारतीय नागरिकता, कति छन् जनसंख्या ? — OSNepal

कालापानी, लिपुलेक र लिम्पियाधुरावासीसँग भारतीय नागरिकता, कति छन् जनसंख्या ?

LC (KTM) October 11, 2021 0

दार्चुला, २५ असोज । भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा नेपालको राष्ट्रिय जनगणना २०७८ अन्तर्गत गणना हुने वा नहुने चर्चा र चासोको विषय बनेको छ । हाल नेपाल सरकारले उक्त क्षेत्र नयाँ नक्सामा समेटेकाले नेपालको भूगोलमा बसोबास गर्ने नागरिकहरूको जनगणना गरिनुपर्ने विभिन्न निकायले सरकारसँग माग गरिरहेका छन् ।

राष्ट्रिय जनगणनाका लागि दार्चुला जिल्लामा घरपरिवारको लागत संकलन गरिएको छ । तर, कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका ती गाउँहरूको लगत संकलन गर्न नसकिएको जिल्ला जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले जानकारी दिए ।

भारतको अतिक्रमणका परेका गाउँहरूमा यथास्थितिमा सुपरिवेक्षक वा गणक गएर गणना गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ । सर्वाधिक चासो र चर्चामा रहेको उक्त क्षेत्रमा कति घरपरिवार र जनसंख्या छ भन्ने विषयमा सन् २०११ मागरिएको भारतीय जनगणनको रिर्पाेटको आधारमा उक्त क्षेत्रको जनसंख्यालगायतका विषयमा खोजेका छौ ।

भारतको राष्ट्रिय जनगणना सन् २०११ मा भएको थियो । सन् २०२१ मा फेरि अर्को जनगणनाको तयारी छ । नौ वर्षअघिको जनगणनाअनुसार अतिक्रमित क्षेत्रमा पर्ने कुटी गाउँमा एक सय १५ घरधुरी छन् भने जनसंख्या ३ सय ६३ छ । जसमध्ये पुरुष एक सय ९८ र महिला एक सय ६५ छन् ।

६ वर्षमुनिका बालबालिका २७, दलित ३१ र जनजाति (सौका समुदायका) दुई सय ९१ जना छन् । एक सय १५ घरधुरी रहेको कुटी गाउँको साक्षरता दर ८७ प्रतिशत रहेको पिथौरागढ जिल्ला प्रशासनकार्यालयले प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ ।

नाभीग्राम पञ्चायतअन्तर्गत महाकालीपूर्वको नाभीगाउँमा ३२ घरधुरी छन् । नाभीगाउँको जनसंख्या ७८ छ । सबैजना सौका समुदायका छन् । ४५ पुरुष र ३३ महिलातथा ६ वर्षमुनिका दुई बालबालिका छन् । साक्षरता प्रतिशत ८५ रहेको छ ।

गुञ्जीग्राम पञ्चायतमा पर्ने गुञ्जीगाउँमा एक सय ९४ घरधुरी छन् । दुई सय २९ पुरुष र एक सय ६ महिला गरी तीन सय ३५ जनसंख्या छ । ६ वर्षमुनिका १९ बालबालिका र दलित समुदायका ११ नागरिक गुञ्जीमा बसोवास गर्दछन् । ८७ प्रतिशत साक्षरता छ ।

अतिक्रमित नेपाली भूमिका तीनवटै गाउँको जनसंख्या सात सय ७६ छ भने घरधुरी संख्या तीन सय ४१ छ । जनसंख्यामध्ये महिला तीन सय चार र पुरुष चार सय ७२ छन् । तीनवटै गाउँमा सौका समुदायको जनसंख्यामात्रै पाँच सय ६३ रहेको भारतको सरकारको अभिलेख छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा सबैले चिन्ने नाम हुन् । तर, यीगाउँका नाम नभएर पहाडी श्रृङखलाका नाम हुन् । यस क्षेत्रमा पर्ने तीनगाउँहरू कुटी, नाभी र गुञ्जी हुन् ।

भारतको सैनिक नियन्त्रणमा रहेको उक्त क्षेत्रमा भारतीय नागरिकले समेत प्रशासनको लिखित अनुमति लिएर मात्रै प्रवेश पाउँछन् । यसकारण कुनै पनि नेपालीले त्यसक्षेत्रमा भ्रमण गर्ने र वस्तुस्थितिबारे जानकारी राख्ने विषय असम्भवप्रायः छ ।

नयाँ नक्सा जारी हुनुभन्दा पहिले त्यस क्षेत्रका सुरक्षाकर्मीको कामदारका रूपमा नेपालीहरू जाने गरेको भए पनि हाल नेपालीहरूको प्रवेशमा पूर्ण निषेध गरिएको छ । लिम्पियाधुरादेखि बगेर आउने महाकालीनदीको पूर्वीक्षेत्रमा पर्ने कुटी, नाभी र गुञ्जीगाउँका वासिन्दासँग अहिले भारतीय नागरिकता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर