प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा जात्रा सुरु, भोलि बलि — OSNepal

प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा जात्रा सुरु, भोलि बलि

LC (KTM) October 12, 2021 0

बैतडी, २६ असोज- सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी पशूबलि हुने बैतडीको दशरथचन्द नगरपालिका–२ मा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आजदेखि जात्रा सुरु भएको छ । आज महासप्तमीका दिन फूलपाती भित्र्याएर विशेष पूजाआजासहित जात्रा सुरु भएको र भोलि महाष्टमीका दिन बलिसहित पूजाआजा गरेर सम्पन्न हुने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “महाअष्टमीमा बलि दिइन्छ । पूजाआजा भने घटस्थापनादेखि नै सुरु हुन्छ । आज फूलपाती भित्र्याएसँगै जात्रा सुरु भएको छ ।”

यहाँ राँगाको बलि दिने भाकल गरेकाले आज नै राँगा मन्दिरमा लगेर बाँध्ने चलन रहिआएको छ । जात्रामा सुदूरपश्चिम प्रदेशका साथै भारतीय दर्शनार्थीसमेत आउने गरेका छन् । यसैबीच निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई व्यवस्थित बनाउन मदिरा बिक्रीवितरण, सेवन र जुवातास खेल्न पूर्णरूपमा रोक लगाइएको छ । दशरथचन्द–२ का वडाध्यक्ष रनबहादुर बोहराका अनुसार घटस्थापनादेखि नै देहीमाण्डौ क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।

कसैले मदिरा सेवन गरेको पाइएमा रु दुई हजार, बेचबिखन र ओसारपोसार गरेमा रु छ हजार जरिवानासहित मदिरासमेत जफत गरिने वडा कार्यालयले जनाएको छ । यसका साथै जुवा खेले वा खेलाएमा रु तीन हजार जरिवाना गरिने बताइएको छ । यस्तै कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले मेला तथा जात्रामा सहभागी हुने दर्शनार्थीलाई अनिवार्यरूपमा स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको छ । यहाँ एक हजारभन्दा बढी पशु बलि दिइने अनुमान गरिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर