• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

महाअष्टमी अर्थात् दसैँको आठौँ दिन : नेवार समुदायमा आज कुछी भ्वय

महाअष्टमी अर्थात् दसैँको आठौँ दिन : नेवार समुदायमा आज कुछी भ्वय


  • ओएसनेपाल
  • असोज २७ २०७८, बुधबार
  • २:३१ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 2.5K
    SHARES

    भक्तपुर, २७ असोज । महाअष्टमी अर्थात् दसैँको आठौँ दिन । आज नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी मनाउने छन् । केराको पातमाथि विभिन्न परिकार राखी कुछी भ्वय खानेछन् । कुछी भ्वय अर्थात् दुई मानाको भोज । जसमा कुछीको अर्थ दुई माना र भ्वयको अर्थ भोज हो ।

    यसरी केराको पातमा चिउरा, भटमाससहितका १२ थरीको परिकार राखी कुछी भ्वय खाने गरिन्छ । कुछी भ्वय खानको लागि तरकारीका परिकार मात्रै १२ थरीको चाहिन्छ । साथै छोयला पनि १२ टुक्रा गरिन्छ । केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका स-साना दुई थरी चाना), अदुवा, बोडी, केराउ, मस्याङ, घिरौँला, भटमासलगायतका परिकार राखेर कुछी भ्वय खाने गरिन्छ ।

    दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम कुछी भ्वय रहन गएको भनाइ भक्तपुरका केही स्थानीयको भनाइ छ । तर संस्कृतविद् ओम धौँभडेलले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकोले यसको नाम कुलछी भ्वय रहेको तर पछि अपभ्रंश भएर कुछी भ्वय हुन गएको बताउँछन् ।

    नेवार समुदायमा जुठो परे पनि कुछी भ्वय खानुपर्ने मान्यता रहेको छ । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको उनले बताए ।

    केराको पात शुद्ध हुनुका साथै वैज्ञानिक रुपमा स्वास्थ्यको लागि उपयुक्त भएकोले केरोको पात भ्वयमा प्रयोग हुने गरेको उनले बताए । त्यसैले आज भक्तपुरका चोकचोकमा केराको पातको व्यापार पनि हुनेछ ।

    महाअष्टमीको दिन बिहान नेवार समुदायले घरघरमा दसैँको मासु भित्र्याएका थिए । नेवार समुदायमा टोल छिमेक मिलेर संयुक्त रूपमा राँगो काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याउने प्रचलनअनुसार आज दसैँको मासु भित्र्याइएको हो । मासु भित्र्याउँदा घरको मूलढोकामा रगत छर्कने गरिन्छ भने मासुलाई मन्छाएर मात्र घर भित्र्याउने प्रचलन रहेको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend