नेपालको राष्ट्रिय खेल भलिबलको मुख्य प्रशिक्षकमा सिंह नियुक्त



काठमाडौँ, १४ असार- नेपालको राष्ट्रिय खेल भलिबलको मुख्य प्रशिक्षकमा प्रज्ज्वलबहादुर सिंह नियुक्त हुनुभएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले सिंहलाई आज प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो ।यही असार १० गतेको सदस्य सचिवस्तरीय निर्णयअनुसार सिंहलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको राखेप तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विकद्वारा हस्ताक्षरितपत्रमा उल्लेख गरिएको छ ।

उहाँ जिल्ला खेलकूद विकास समिति काठमाडौँमा भलिबल प्रशिक्षकका रुपमा कार्यरत हुनुहुन्थ्यो । विसं २०५२ मा सिंहले सहायक प्रशिक्षकका रुपमा आफ्नो जागिर शुरु गर्नुभएको थियो । उहाँ २०६४ सालमा प्रशिक्षकमा बढुवा हुनुभएको थियो । यसअघि सलिना श्रेष्ठ भलिबलको मुख्य प्रशिक्षक हुनुहुन्थ्यो । सिंह भलिबलका पूर्व खेलाडी हुन् । (रासस)

Comment