एमसिसी अनुमोदको म्याद आजबाट सकिदै, के गर्ला अमेरिका ?



काठमाडौं- अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) कार्यान्वयन शुरु गनुपर्ने म्याद आजबाट सकिदै छ।

सत्तारुढ दलभित्रैको चर्को विवाद भएका कारण संसदबाट एमसिसी अनुमोदन आज नहुने पक्का भएको छ।

एमसिसीविरुद्ध आयोजित प्रदर्शनीमा सहभागिहरु

एमसिसी संसदबाट अनुमोदन गरिसक्नुपर्ने समय घर्किनै लाग्दा नेपालले यसको कार्यान्वयन मितिमा पुनर्विचार गर्न प्रस्ताव गरेको छ।

नेपालले मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए–नेपाल) मार्फत सोमबार कार्यान्वयन मितिमा पुर्नबिचार गर्न अनुरोध गरेको हो।

एमसिए नेपालले सामेबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हालैका दिनमा विश्वव्यापी कोभिड–१९ महामारी तथा संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइका कारण कार्य प्रगतिमा अवरोध सिर्जना भएको हुँदा नेपाल कम्प्याक्ट कार्यान्वयन थालनीमा पुनर्विचार आवश्यक देखिएको छ।’

आजदेखि कम्प्याक्टको कार्यान्वयन थालनी हुन नसक्ने परिस्थिति देखिएको एमसिए नेपालको विज्ञप्तिमा उल्लेख छ।

उता अमेरिकाले भने एमसीसीको अनुदान स्वीकार गर्ने विषय नेपालकै रोजाइको कुरा भएको तर यस अन्तर्गतको कोषको उपलब्धता भने सधैँ खुला नरहने बताएको छ।

नेपालस्थित अमेरिकी दूतावासले सोमबार विज्ञप्ति जारी गर्दै
नेपालको संसदबाट एमसीसी अनुमोदन भइनसकेको बारेमा अमेरिका जानकार रहेको बताएको छ।

‘दुई देशले सेप्टेम्बर २०१७ मा हस्ताक्षर गरेको र नेपालले सेप्टेम्बर २०१९ भित्र अनुमोदन गर्ने प्रतिबद्धता जनाएको यस ५० करोड डलरको अनुदानलाई अगाडी बढाउन आवश्यक अर्को कदम अनुमोदन हो,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘अनुमोदनमा ढिलाइ गर्नुको मतलब झन्डै २ करोड ३० लाख नेपालीलाई थप रोजगारी तथा आर्थिक वृद्धिमा बढोत्तरीका फाइदा दिलाउनमा ढिलाइ गर्नु हो।’

यो सम्झौताका कार्यक्रम विकास गर्न सबै प्रमुख राजनीतिक दलका प्रतिनिधित्व भएका विभिन्न सरकारहरू अन्तर्गत नेपाल सरकार र एमसीसीले सन् २०१२ देखि लगातार सँगै मिलेर काम गर्दै आएको दूतावासले स्मरण गराएको छ।

दूतावासले नेपाल राखेको कार्यान्वयन मिति पुर्नविचार गर्न आग्रह गरेको प्रस्तावप्रति भने कुनै टिप्पणी गरेको छैन्।

नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेशनबीच भएको सहमतिअनुसार असार १६ गते (मंगलबार) देखि एमसीसीका परियोजनाहरु कार्यान्वयनमा आउनुपर्ने हो।

एमसिसी अनुमोदको समय सकिनै आँटेका बेला सत्तारुढ नेपाल नेकपाको जारी स्थायी कमिटी बैठक आज पनि बस्दै छ।

एमसिसीबारे नेकपाको आजको बैठकले कुनै न कुनै निर्णय लिनसक्नै भन्दै चासोपूर्वक हेरिएको छ।

Comment