मुग्लिनबाट आँबुखैरेनी आउँदै गरेको मोटरसाइकल जाँच गर्दा चार युवा परे पक्राउ



दमौली, १६ असार-प्रहरीले तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपबाट गाँजासहित चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको रुपा गाउँपालिका–५ बस्ने २४ वर्षीय मुस्कान पङ्गेनी र २५ वर्षीय तेजबहादुर गुरुङ तथा पोखरा महानगरपालिका–३२ बस्ने २२ वर्षीय रुपेश गुरुङ र २३ वर्षीय आकाश गुरुङ रहेको प्रहरीले जनाएको छ ।

मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग १५ प ६६४० नं को मोटरसाइकल जाँच गर्ने क्रममा पङ्गेनी र तेजबहादुरलाई खानतलासी गर्दा प्रहरीले निजका साथबाट दुई किलो तीन सय ग्राम अवैध गाँजा बरामद गरेको छ । प्र्रहरीले उक्त लागुऔषध ओसारपसार एवं सञ्चयसमेतको कारोवार गर्ने रुपेश र आकाशलाई समेत पक्राउ गरी आज जिल्ला अदालतबाट म्याद थप लिएर थप अनुसन्धान भइरहेको जनाएको छ । (रासस)

Comment