स्याङ्जाको प्रसिद्ध गह्रौंसुर कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो — OSNepal

स्याङ्जाको प्रसिद्ध गह्रौंसुर कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो

LC (KTM) October 13, 2021 0

स्याङ्जाको प्रसिद्ध गह्रौंसुर कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । वालिङ र गल्याङ नगरपालिकाको सङ्गमस्थलको सो कालिका मन्दिरमा गतवर्षको तुलनामा यसवर्ष दर्शनार्थीहरुको भीड लागेको हो ।कोरोना कम भएसँगै मठमन्दिर खुलेकाले पनि दर्शनार्थीहरुको भीड बढेको गह्रौंसुर धार्मिक एवं पर्यटकीय केन्द्रका अध्यक्ष सुरजप्रताप खाँणले जानकारी दिनुभयो । “दसैंको आठौं दिन आजसम्म आइपुग्दा झण्डै २५ हजार भक्तजनहरुले मन्दिर दर्शन तथा पूजाआजा गर्नुभएको छ”, अध्यक्ष खाँणले भन्नुभयो, “कोभिडको जोखिमका समयमा मन्दिरमा पूजाआजा बन्द भएर खुल्नासाथै दसैं परेकाले पनि दर्शनार्थीहरुको घुइँचो लागेको हो ।”

मन्दिरसम्म पुग्न सडक मर्मत गरेसँगै आवत जावत सहज भएको र भौतिक पूर्वाधारहरु निर्माण भएको केन्द्रका कोषाध्यक्ष केशभक्त गुरुङले जानकारी दिनुभयो । कोभिडको सङ्क्रमण दर केही कम भएपनि स्वास्थ्यसम्बन्धी आधारभूत मापदण्डहरु अपनाउँदै दर्शनार्थीहरुलाई निःशुल्क मास्क उपलब्ध गराइएको छ ।

धार्मिक एवं पर्यटकीय दृष्टिले प्रचूर संभावना बोकेको यस स्थलबाट स्याङ्जासहित, पाल्पा, तनहुँ, पर्वत, कास्की, गुल्मी, नवलपरासी लगायतका जिल्लाका विभिन्न भागहरुको मनोरम दृश्यसमेत अवलोकन गर्न सकिन्छ । जिल्लाकै सबैभन्दा उचाइमा रहेको यस ठाउँको विकासका लागि अतिथि गृह, पाटी पौवाहरु, खानेपानी, सुरक्षाकालागि अस्थायी प्रहरी बिट निर्माण गरिएको छ । सो मन्दिर ५ सय ५० वर्ष पुरानो मानिन्छ । तत्कालिन बाइसे चौबीसे राज्य अन्तर्गतको गह्रौंकोट राज्यका प्रथम राजा दशरथ खांँणको समयमा स्थापित धार्मिक, ऐतिहासिक एवं पुरातात्विक महत्वको गह्रौंसुर मन्दिरमा भक्तजनहरुको आकर्षण बढ्दै गएको हो ।

स्याङ्जाको वालिङ १२ मा अवस्थित अकलादेवी, कालीगण्डकी गाउँपालिका ३ मा अवस्थित शाह वंशको कूलदेवताकोरुपमा परिचित आलमदेवी, पुतलीबजार नगरपालिका १४ मा रहेको सतौंचण्डी, पुतलीबजार ४ मा अवस्थित नुवकोट, फेदीखोला गाउँपालिकामा अवस्थित कालाभैरव मन्दिरहरुमा दर्शनार्थीहरुको घुइँचो लागेको त्यहाँ रहेका मन्दिर व्यवस्थापन समितिले जानकारी दिएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर