मौरीको पकेट क्षेत्रमा आधुनिक घार वितरण



जाजरकोट, १७ असार :मौरीको पकेट क्षेत्रका रूपमा रहेको नलगाड नगरपालिका–१ र २ मा नगरपालिकाद्वारा आधुनिक घार वितरण गरिएको छ । मह उत्पादन वृद्धि गरी किसानको अर्थोपार्जन बलियो बनाउन आधुनिक घार वितरण गरिएको नगरपालिकाका प्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो ।जिल्लाको सबैभन्दा बढी मह उत्पादन हुने यहाँ नगरपालिकाले पकेट क्षेत्र घोषण गरी योजनावद्धरूपमा काम गरिरहेको छ । पचास प्रतिशत अनुदानमा घारहरु वितरण गरिएको नगरपालिका कृषि शाखाका बालकृष्ण आचार्यले जानकारी दिनुभयो ।

गाउँमा रहेका खोपे र मुढेघार विस्थापित गरी आधुनिक घारमय गाउँ बनाउने लक्ष्य रहेको उहाँको भनाइ छ । वडा नं १ मा २५० र वडा नं २ मा २०० घार वितरण गरिएको छ । त्यस्तै फलफूलका बिरुवासमेत वितरण गरिएको छ । तीन हजार आँप, पाँच हजार कागती, पाँच हजार ५०० सुन्तला, छ हजार ५०० टिमुरका बिरुवा वितरण गरिएको छ । (रासस)

Comment