सेयर बजारमा आयो उछाल



काठमाडौं -धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि नेपाल स्टक एक्सचेन्जले बुधबारका लागि कारोवार स्थगन गरेको छ।

स्टकका अनुसार मङ्गलबारकै लयमा नेप्सेमा उच्च अङ्कको वृद्धिसँगै कारोवार स्थगन भएको आज दोस्रो दिन हो। कोरोनाको कारण झण्डै १०० दिनपछि खुलेको बजारमा सोमबार नेप्से दोहोरो अङ्कले घटेको थियो। मङ्गलबार र बुधबार भने नेप्सेमा सकारात्मक सर्किट लागेको छ। स्टकका अनुसार नेप्से ७५.७७ बिन्दुले बढेर एक हजार ३६६.५२ मा पुगेको छ।

यस्तै सेन्सेटिभ परिसूचकसमेत १५.१० अर्थात् ५.५५ प्रतिशतले वृद्धि भएको छ। कूल १३५ कम्पनीको ११ लाख एक हजार दुई कित्ता शेयर रु ४० करोड ७३ लाख ५२ हजार २४७ मा कारोवार भयो। कारोवार भएका १२ उपसमूहमध्ये आज होटल उपसमूहको शेयर ओरालो लागेको छ। अन्य ११ समूहको शेयर भने वृद्धि भएको छ।

Comment