बझाङमा भिषण पहिरो गयो, १७ घर बगाउँदा ७ जना बेपत्ता



काठमाडौं, असार २० । बझाङमा पहिरोले १७ घर बगाउँदा ७ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार केदारस्युँ गाउँपालिका ८ मल्लेसीमा गएको पहिरोमा १७ घर बगाउँदा ठूलो धन जनको क्षती भएको छ । हाल प्रहरी घटनास्थलमा पुगेर उद्धारकार्य सुरु गरिसकेको बझाङका प्रहरी प्रमुख डिएसपी गणेशबहादुर बमले जानकारी दिए ।

बझाङका प्रहरी प्रमुख डिएसपी गणेशबहादुर बमका अनुसार स्थानीय जिउनीगाड नदीले सडक बगाएकाले घटनास्थलमा पुग्नै समस्या भएका कारण उद्धारमा समेत कठिन्याई भइरहेको छ ।

घटना मध्यरातिको भए पनि जिल्ला प्रहरी कार्यालयमा भने शनिबार बिहान मात्रै जानकारी आएका कारण उद्धार गर्न पनि ढिलो भएको प्रहरीले जनाएको छ । सिंगो गाउँ नै पहिरोको चपेटामा परेकाले स्थानीयको बिचल्ली भएको र पहिरोले एउटा पावरहाउस समेत भत्याएर बगाएको छ ।

Comment