भुष्मेका बारी तरकारी खेतीले हरिमल्लै — OSNepal

भुष्मेका बारी तरकारी खेतीले हरिमल्लै

LC (KTM) October 16, 2021 0

लमजुङ-मर्स्याङदी गाउँपालिका–८ को पर्यटकीय गाउँ भुष्मेको सिङ्गो गाउँ अहिले तरकारी खेतीमा लागेको छ । केही वर्षअघिसम्म बाँझो रहेको यी बारी अहिले हरिमल्लै भएको देख्न सकिन्छ । किसान यतिबेला काउली, बन्दा, गोलभेंडालगायत बिक्री गर्न व्यस्त छन् । केही वर्षअघिसम्म तरकारीका लागि बजार र छिमेकीको आस गर्ने भुष्मेबासी अहिले तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेका छन् ।

स्थानीय अगुवा होमराज तामाङका अनुसार गाउँका ५५ घरपरिवार तरकारी खेतीमा लागेको बताए । उनले भने, ‘आफैँले गर्नुपर्छ भन्ने बुझेपछि घरघरमा टनेल बनाएका छौ । आफैँले तरकारी फलाउन थालेपछि आफुलाई पनि भयो बिक्री पनि गर्न पायौं ।’ अहिले यो गाउँ तरकारीमा आत्मानिर्भर भएको उनले बताए । २०७१ सालेदखि तरकारी खेती गर्दै आएकी निलमाया तामाङले आठ रोपनी जग्गामा व्यावसायीक तरकारी खेती गरेकी छन् । उनले ५–६ वटा टनेल निर्माण गरी मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएको बताइन् । उनले भनिन्, ‘पहिले दुईचार पैसा देख्न नी रहरै हुन्थ्यो । अहिले त महिनामा नै ५० हजार आम्दानी हुन्छ ।’ निलमाया जस्तै तरकारी फलाउन हौसिएकी छिन् सुनसरी तामाङ । तरकारी खेती सुरु गरेसँगै घरखर्च र छोराछोरी पढाउन सहज भएको उनले बताइन ।

भुष्मे गाउँ तरकारी पकेट क्षेत्र नै घोषणा भएको छ । भुष्मेमा स्थानीय नन्दराज तामाङको अध्यक्षतामा नौ सदस्यीय भुष्मे तरकारी पकेट सन्चालन समिति गठन गरिएको छ । गाउँलेले एक सय ५० रोपनी जग्गामा तरकारी खेती गर्दै आएका छन् । स्थानीय विष्णुमाया तामाङका अनुसार तरकारी खेतीका लागि मस्र्याङ्दी गाउँपालिका, गण्डकी प्रदेश सरकार, कृषि ज्ञान केन्द्र लमजुङले सहयोग गर्दै आएको छ । भुष्मेमा ०७४ सालदेखि होमस्टे पनि सुरु भएको छ । तामाङ जातीको बसोबास रहेको गाउँमा १० घरमा होमस्टे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर