होटलको २५ अर्बको लगानी व्यवसाय धरासयी — OSNepal

होटलको २५ अर्बको लगानी व्यवसाय धरासयी

LC (KTM) October 17, 2021 0

बुटवल – रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई हजार ५०० होटल छन् । त्यसमध्ये १५० भन्दा बढी स्तरीय होटल सञ्चालनमा रहेका होटल व्यवसायी संघ रूपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले बताए ।

कोरोना महामारीका कारण पर्यटन क्षेत्र सुस्ताए पनि पर्यटन व्यवसायीले लगानी गर्ने क्रम रोकेका छैनन् । भैरहवामा निर्माण सम्पन्न हुन लागेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल सञ्चालनपछि पर्यटन व्यवसाय फस्टाउने अपेक्षाले यो क्षेत्र लगानीकर्ताका लागि आकर्षणको केन्द्र बनेको व्यवसायीको भनाइ छ ।
संघका जिल्ला अध्यक्ष गौतमका अनुसार महामारी सुरु भएपछि एक सय ठूला होटल थपिएका छन् । तर, कोरोना भाइरस महामारीका कारण सञ्चालनमा रहेका पर्यटन व्यवसाय भने धरासायी बन्दै गएको छ ।

लगानीको प्रतिफल कसरी आउने भन्ने चिन्तामा व्यवसायी छन् । होटलको चर्को ब्याज तथा कर्मचारीलाई पारिश्रमिक दिन समस्या भएपछि केही सञ्चालक होटल छाडेर समेत हिँडेका छन् । पर्यटनसँग जोडिएका होटल, ट्राभल एजेन्सी तथा अन्य साना व्यवसायसमेत प्रभावित भएका छन् । लुम्बिनी क्षेत्रमा सम्पन्न भएका र अन्तिम चरणमा रहेका केही ठूला पूर्वाधारका कारण पर्यटनको अपार सम्भावना देखेर हौसिएका लगानीकर्ता यतिखेर निराश छन् । केही विदेशी र अधिकांश ठूला स्वदेशी लगानीकर्ताले निर्माण गरेका तारे होटल पनि अहिले खाली छन् ।

बुद्ध जन्मस्थल लुम्बिनी सांस्कृतिक नगरपालिकामा मात्रै साना ठूला गरी १२४ होटल तथा रेस्टुरेन्ट छन् । तीनवटा होटल निर्माणाधीन अवस्थामा छन् ।कोरोनाको असरले लामो समय बन्द गर्नुपरेपछि कतिपय व्यवसायीले होटल बिक्री गरेका छन् । लुम्बिनी होटल संघका महासचिव लीलामणि शर्माले सरकारले पर्यटन व्यवसाय उकास्ने गरी योजना र कार्यक्रम ल्याउनुपर्ने बताए ।

महामारी कम हुन थालेपछि आन्तरिक पर्यटक विस्तारै बढ्न थालेका छन् । अहिले दैनिक एक हजारको हाराहारीमा पर्यटक लुम्बिनी घुम्न आए पनि दिनभर घुमेर रात नबिताइ फर्किंदा पर्यटन व्यवसायीले लाभ लिन नसकेको लुम्बिनी होटल व्यवसायी संघका महासचिव शर्माको भनाइ छ ।

कोरोना संक्रमणका कारण आन्तरिक पर्यटकले रात बिताउँँदैनन्, विदेशी पर्यटक आउन चाहेर पनि पाएका छैनन् । ‘बुद्ध धर्म मान्ने धेरै देशहरुसँगै पोल्यान्ड, फ्रान्स, जर्मनी, इटलीलगयतका देशका पर्यटक बुद्धजन्मस्थल आउन इच्छुक छन्, फोन गरेरै अन्तर्राष्ट्रिय उडान खुल्ने वित्तिकै आउँछौँ भनेका छन् तर महामारी नहटेसम्म आउने अवस्था छैन, यसको मार व्यसायीले नै बोक्नुपरेको छ’, उनले भने ।

सरकारले पर्यटकीय गन्तव्यका सडक चार लेनमा विस्तार गर्ने, चीनको रेल केरुङबाट काठमाडौं, पोखरा हुँदै लुम्बिनी ल्याउने, भारतबाट काठमाडौंसम्म रेल ल्याउने, थप तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नेलगायत महत्वाकांक्षी योजना सार्वजनिक गरेपछि मुलुकमा पर्यटनको लहर आउने विश्वासले पनि लगानीकर्तालाई होटल व्यवसायमा आकर्षित गरिदियो तर लगानी उठाउन सक्ने अवस्था नहुँदा व्यवसायी निराश छन् ।

यो क्षेत्रमा लगानी गर्नका लागि गौतमबुद्ध विमानस्थलसँगै बुटवल–भैरहवा तथा भैरहवा–लुम्बिनी–तौलिहवा चार लेन सडक, बेथरी–वेलवास चार लेन सडक र निर्माणाधीन बुटवल–नारायणगढ ६ लेन सडक, बुटवलमा निर्माणाधीन अन्तर्राष्ट्रिय सभाहल र प्रदर्शनी केन्द्र, लुम्बिनीमा पाँच हजार क्षमताको सभाहललगायतका ठूला पूर्वाधारले लगानीकर्ताको ध्यान तानिएको हो ।

लुम्बिनीमै डेढ अर्बभन्दा बढी लगानीमा पाँचतारेस्तरको बुद्धमाया र जापानी नागरिक नोबुओ कासाईको करिब डेढ अर्ब बढी लगानीमा अर्को पाँचतारे होटल कासाई सञ्चालनमा छ । भैरहवादेखि सात किलोमिटर उत्तर चिल्हियामा पाँच अर्बभन्दा बढी लगानीमा टाइगर प्यालेस पाँचतारे रिसोर्ट सञ्चालनमा छ । व्यवसायी पवन हलुवाईसहितको तीन अर्ब लगानीमा लुम्बिनीमा अर्को पाँचतारे पवन प्यालेस इन्टरनेसनल होटल सञ्चालनमा छ ।

त्यसैगरी लुम्बिनीमै एक अर्बभन्दा बढी लगानी रहेको होटल होक्के, लुम्बिनी गार्डेन र न्यु क्रिस्टल होटल पनि सञ्चालनमा छन् । भैरहवा–परासी सडकखण्डको वसन्तपुरमा रहेको बोधी रेडसन होटलमा पनि एक अर्बभन्दा बढी लगानी रहेको छ । मणिग्राममा एक अर्बभन्दा बढी लगानीमा ड्रिम ल्यान्ड गोल्ड रिसोर्ट सञ्चालनमा छ ।

यसैगरी लुम्बिनीमै होटल जाम्बला, बुद्धमाया प्यालेस, ब्याम्बो रिसोर्टजस्ता ५० करोडभन्दा बढी लगानीका सुविधासम्पन्न होटल सञ्चालनमा छन् । लुम्बिनीमै आनन्द ईन, लिटिल बुद्ध, पिस ल्यान्ड, लुम्बिनी गेस्ट हाउस, मायादेवी गेस्ट हाउस, सिद्धार्थ गेस्ट हाउस, होटल अशोकाइन, आकाश इन्टरनेशनल, स्तुप, शाक्य गेस्ट हाउस, होली बर्थ, मिराजइन, आदर्शइन, हाम्रो गेस्ट हाउस, लुम्बिनी ग्रिन भ्यु, सेभेनस्टप गेस्ट हाउस, बेबिलोन, सुरम्मा, बुद्ध इन्टरनेसनल, बुद्ध प्यालेस, सनफ्लावर, बुद्ध रेजेन्सी, जयबुद्धजस्ता ७० भन्दा बढी पर्यटकीय होटल सञ्चालनमा छन् ।

लुम्बिनीका होटलमा मात्रै एक रातमा १० हजार बढी पर्यटकलाई राख्न सकिने क्षमता छ । पछिल्लो समय करिब एक अर्ब लगानीमा छपियामा होटल लुम्बिनी पिस प्यालेस र ५० करोडभन्दा बढी लगानीमा बुटवलमा होटल फ्लामिङ्गो सञ्चालनमा आएका छन् । यी दुवै होटल कोरोना महामारीकैबीच सञ्चालनमा आएका हुन् ।

त्यसैगरी ५० करोड हाराहारी लगानीमा भैरहवाको होटल नान्स, होटल निर्वाणा, बुटवलमा पाँच करोडभन्दा बढी लगानीका आरम्भ रिसोर्ट, सिद्धार्थ कटेज, लक्ष्मी होटल, दरबार होटल, न्यु इरा, सिन्दूर, एसियन, आम्रपाली कटेज, दियालो, मिराज, बृन्दाबन छन् । त्यसैगरी बुटवलमा ४० करोड बढी लगानीका क्लब डेनोभो, होटल एभिन्यु, डारसिस, टुलिप, महाराजा, दरबार लन्जलगायतका होटल सञ्चालनमा छन् ।

भैरहवामा पाँच करोडभन्दा माथि लगानी गरिएका होटल यती, अशोका, पौवा, क्यासल, ह्वाइट लोटस, सिटी म्याक्स, सिटी सेन्टर, लाकौल इन, होटल लाकौल, एसआर, प्रकाश एण्ड प्रकाश, पटवा बैंकक्वेट, जोशी, सिटी सेन्टर, माउन्ट एभरेस्ट, मानसरोवर, ममता, कोटिहवाको यती पार्टी प्यालेस, पवन इन्टरनेसनल र मणिग्राममा होटल मदानी सञ्चालनमा छन् ।

छपियामा एक जना कृषकले २० करोडको लागतमा फिस रिसोर्ट सञ्चालन गरेका छन् । टेकनाथ बस्यालले डाइभरटोलमा ८५ फिट अग्लो १५ करोडको लागतमा निर्माण भएको शङ्कर टावरमा होटल एसआर सञ्चालन गरिरहेका छन् ।

अजय चौधरीले कानपारामा करोडौंँ रुपैयाँको लगानीमा एग्रो रिसोर्ट सञ्चालन गरिरहेका छन् । बर्सेनि झण्डै १६ लाख पर्यटकले भ्रमण गर्ने लुम्बिनीमा दुई वर्षदेखि विदेशी पर्यटकको संख्या शून्य सरह छ ।

अहिले व्यवसायीले बैंकको ब्याज तिर्न सक्ने अवस्था नभएकाले बैंकको ब्याजमा सहुलियत दिनुपर्ने र पुनःकर्जाको व्यवस्था गरिदिनुपर्ने पर्यटन व्यवसायीको भनाइ छ । कोभिडले पारेको प्रभावको राहतका लागि प्रभावितहरु संगठित भएर एकै स्वरमा आवाज बुलन्द गर्न जरुरी रहेको होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले बताए ।

होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधवप्रसाद नेपालले सरकार जिम्मेवार नहुँदा पर्यटन व्यवसायीहरु मर्कामा परेकाले थप पीडित भएको बताउँदै विशेष प्याकेजका कार्यक्रमबाट मात्र व्यवसायीले राहत प्राप्त गर्न सक्ने बताए ।न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर