नाचगान र रमाइलो गर्ने एप टिकटक किन अमेरिका-चीनको द्वन्द्वमा फस्यो ?



काठमाडौं– भाइरल नाच र हास्यमिश्रित अभिनयका कारण टिकटक युवा वर्गमा निकै लोकप्रिय बनेको छ।

तर चीनसँग सम्बन्धित भएका कारण चिनियाँ राष्ट्रपति सी जिन्पिङ र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच द्वन्द्व बढ्दा टिकटक दबावमा परेको नयाँ कम्पनी बनेको छ।

अमेरिका र अस्ट्रेलिया यो एपलाई प्रतिबन्ध लगाउन सकिने बताइरहेका छन् भने भारतले यसलाई प्रतिबन्ध लगाइसकेको छ। टिकटक तीन एपका साथ सुरु भएको थियो।

पहिलो सन् २०१४ मा सुरु भएको अमेरिकी एप म्युजिकल्ली हो। सन् २०१६ मा चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले चीनमा उस्तै प्रकारको ठाउयीन एप सुरु गर्‍यो।

बाइटडान्सले त्यसलाई संसारभर टिकटकको नाममा फैलायो।

सन् २०१८ मा बाइटडान्सले म्युजिकल्लीलाई किन्यो र यसलाई टिकटकमा मिसायो।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले टिकटकले सङ्कलन गरेको तथ्याङ्क चिनियाँ कम्युनिस्ट पार्टीको हातमा पुग्ने आरोप लगाएका छन्।

टिकटकले तथ्याङ्क सङ्कलन चीन बाहिर हुने र बाहिरै भण्डार हुने पटक(पटक बताएको छ।

‘हामी चिनियाँ सरकारको औंलामा छौँ भन्ने कुरा पूर्ण रूपमा असत्य हो,’ टिकटकको युरोप, मध्यपूर्व र अफ्रिकाका लागि सार्वजनिक नीतिका प्रमुख थियो बेर्टरामले बीबीसीलाई बताएका थिए।

तर टिकटकविरुद्धको कुरा भनेको चिनियाँ सरकारले स्थानीय कानुन लगाएर बाइटडान्सलाई विदेशी प्रयोगकर्ताको तथ्याङ्क दिन बाध्य पार्न सक्छ भन्ने हो।

सन् २०१७ को चीनको राष्ट्रिय सुरक्षा कानुनमा कुनै पनि संस्था वा व्यक्तिले राज्यको जासुसी कार्यकालागि सहयोग र सहकार्य गर्नुपर्ने व्यवस्था छ।

ब्रेटरामले चिनियाँ सरकारले मागेपनि आफूले नदिने बताएका थिए।

तर बाइटडान्सले चिनियाँ सरकारलाई असन्तुष्ट पार्दा हुनसक्ने असरका बारेमा सोच्नपर्ने हुन सक्छ।

बाइटडान्सको धेरै लोकप्रिय समाचार एप टौटिआओ सन् २०१७ मा चीनको इन्टरनेट सूचना कार्यालयले अश्लील सामग्री फैलाएको भनेपछि २४ घण्टाका लागि हटाइएको थियो।–बिबिसी

Comment