महाकाली नदीको पुल जोडने पहुँच मार्ग बाढीले भत्कायो — OSNepal

महाकाली नदीको पुल जोडने पहुँच मार्ग बाढीले भत्कायो

LC (KTM) October 19, 2021 0

कञ्चनपुर, २ कात्तिक -महाकाली नदीको बाढीले चार लेनको पहुँच मार्गको डेढ किलोमिटर सडक खण्ड भत्काएको छ । नदीको उच्च बहावका कारण सो सडकखण्ड भत्किएको हो । बाढीले भुजेला खोलादेखि दक्षिण र पुल निर्माण उत्तरको क्षेत्रमा पहुँच मार्ग भत्काएको छ । नदीले अझै सडक कटानको कार्य जारी राखेको छ । पहुँच मार्ग भत्किएपछि महाकाली नदीको बाढी बस्तीमा पसेको छ । स्थानीयवासीका अनुसार भिनपा १२ को वडा कार्यालय, अस्फाल प्लान्ट एरिया र आयोजना क्याम्पमा पनि बाढी पसेको छ ।

पहुँच मार्ग भत्किएपछि महाकाली पुल आयोजनाको टोली अनुगमनका लागि पहुँच मार्ग भत्किएको स्थानमा पुगेको छ । आयोजनाका निमित्त प्रमुख चेतराज जोशीको नेतृत्वमा कार्यालयको प्राविधिकसहितको टोली पहुँच मार्गमा पुगेको छ । टोलीले मार्ग भत्किएको स्थानमा स्थलगत निरीक्षण गरी ठेकेदार कम्पनीसँग छलफल गर्ने आयोजना कार्यालयका सवइञ्जिनीयर दुर्गादत्त अवस्थीले बताउनुभयो । उहाँले पुल निर्माण कार्य नसकिएर हस्तान्तरण नभएकाले ठेकेदारले भत्किएका सबै संरचना बनाउनुपर्ने बताउनुभयो । यसअघि बाढीले पुल नजिकैको मार्ग भत्काएको थियो । ठेकेदार कम्पनीले पहुँचमार्ग संरक्षणका लागि ठूला ढुङ्गा व्यवस्थापन गर्न नसकेपछि केही महिनाअघि समेत पुल जोडने पहुँच मार्ग भत्काएको थियो ।कुमार सिएफइसी जेभीले २०७४ मा पुल निर्माणको ठेक्का लिएको थियो । तीन वर्षमा निर्माण कार्य सक्ने गरी ठेकेदार कम्पनीले सम्झौता गरेको छ ।

यसैगरी आइतबारदेखि भइरहेको लगातारको वर्षापछि महाकाली नदीमा पानीले खतराको सतह नाघेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले नदीमा पानीले खतराको सतह नाघेको जानकारी दिनुभयो ।उहाँका अनुसार मङ्गलबार बिहान गरिएको मापनअनुसार महाकालीमा पानीको सतह बढेर तीन लाख ९१ हजार क्युसेक पुगेको छ । नदीमा पानीले खतराको सतह नाघेपछि शारदा ब्यारेजमा आवागमन रोक लगाइएको छ । अहिले शारदा ब्यारेजमा सवारीसाधन र मानिसको आवागमनलाई पूर्ण रुपमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

महाकाली नदी तटीय क्षेत्रमा पस्दा धेरै परिवार प्रभावित भएको बताउँदै प्रहरी नायब उपरीक्षक न्यौपानेले बाढीले पु¥याउको क्षति बारे तथ्याङ्क सङ्कलन तथा उद्दारको काम भइरहेको जानकारी दिनुभयो । सुदूरपश्चिमका पहाडी जिल्ला र तराईमा आइतबार रातिदेखि लगातार वर्षा भइरहेको छ (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर