मुस्ताङ जाने बाटोमा जताततै पहिरो, दर्जनौ गाँडीमा रहेका यात्रु बिचबाटोमै अलपत्र — OSNepal

मुस्ताङ जाने बाटोमा जताततै पहिरो, दर्जनौ गाँडीमा रहेका यात्रु बिचबाटोमै अलपत्र

LC (KTM) October 19, 2021 0

पोखरा, २ कात्तिक- बेनी–जोमसोम सडकमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङको सीमाक्षेत्रबाट सवारीसाधान आउजाउ गर्न सकेका छैनन् । सोही कारण दर्जनौं गाडी विभिन्न ठाउँमा अलपत्र परेका छन् ।

रुप्से झरना, काभ्रेभीर र डुम्रीभीरमा बढी समस्या भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए । ‘मंगलबार विहान एक पटक सबै साना गाडी पास गराएका छौं । ठूला गाडी पास हुने अवस्था छैन,’ उनले भने, ‘फोर ह्वीलर गाडी मात्रै आउजाउ गर्न सक्छन् ।’

बाटो बिग्रिएपछि म्याग्दीको बेनीबाटै गाडी प्रवेशमा रोक लगाइएको उनले बताए । लकडाउन र बाढी पहिरोपछि दुई साताअघि मात्रै बेनी–जोमसोम सडक खुलेको थियो । दानादेखि घाँसासम्मको करिब पाँच किलोमिटर दुरी सबैभन्दा जोखिमपूर्ण छ ।

बाटो अवरुद्ध भएपछि मुस्ताङ घुम्न गएका पर्यटकहरू समस्यामा परेका छन् । ठेकेदारले समयमा काम नगर्दा पहिरोसँगै सडक पनि हिलाम्मे भएको छ । सबैतिर खाल्डैखाल्डा छ । बेनीदेखि जोमसोमसम्मको सडक स्तारेन्नती गर्न साढे दुई अर्बभन्दा बढीमा ठेक्का लागेको छ । चार खण्डमा ठेक्का दिएकोमा कोरलादेखि जोमसोमसम्म काम भैरहेको छ । समरको भीरदेखि स्याङबोचेसम्म काममा ढिलाई भएको छ ।

यो सडक १० मिटर फराकिलो गर्ने योजना छ । त्यसमा ७ मिटर पीचको हुने छ । सडक हिलो भएपछि डोजरले गाडी तानेर पास गराईरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाले बताए । ‘प्रहरी खटाएका छौं । डोजरले गाडी तानिरहेको छ,’ उनले भने, ‘डुम्रीभीरको बाटो नभएपछि अर्काको जग्गाबाट पास गराएका हौं ।’ उनले वर्षा जारी रहेकाले अहिले मुस्ताङ भ्रमणको योजना नबनाउन पनि आग्रह गरेका छन् । मुस्ताङका साना खोलाहरुमा समेत बाढी आईरहेको स्थानीय शुशीलबाबु थकालीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर