बर्दियाको राजापुर र गेरुवा क्षेत्र डुबानमाः हजारौँ घर परिवार विस्थापित — OSNepal

बर्दियाको राजापुर र गेरुवा क्षेत्र डुबानमाः हजारौँ घर परिवार विस्थापित

LC (KTM) October 20, 2021 0

बाँके, ३ कात्तिक-विगत तीन दिनको अविरल वर्षाले बर्दिया जिल्लाका राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका वस्ती डुबानमा परेका छन् ।शनिबारदेखि आएको लगातारको वर्षाका कारण कर्णाली नदीमा आएको बाढीबाट सो क्षेत्रका एक हजार दुई सयभन्दा बढी घर र सयौं विघामा लगाइएको धानबाली डुबानमा परेको जिल्ला प्रशासन कार्यालय बर्दियाको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताउनुभयो । गेरुवा गाउँपालिकाको सन्कतिघाट वन्कत्तीबाट कर्णाली नदीको बाढी पस्दा गेरुवा गाउँपालिका र राजापुर नगरपालिकाको एक दर्जन गाउँ डुबानमा परेका छन् । बाढीबाट भएको क्षतिको अद्यावधिक विवरण आउन बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

हालसम्म प्राप्त प्रारम्भिक सूचनाअनुसार राजापुर नगरपालिका–१ मा ७४८, वडा नं ३ मा १२० र वडा नं ७ मा १५९ गरी जम्मा एक हजार २७ घरपरिवार र गेरुवा गाउँपालिका–२ मा १०० र वडा नं ३ मा ११० गरी जम्मा २१० घरपरिवार गरी कूल जम्मा एक हजार २३७ घरपरिवार प्रभावित भएका छन् । प्रभावितलाई सुरक्षित स्थानमा -बाढी प्रभावितमध्ये चनौरामा ७०, मुगौहा उच्चस्थानमा ६०, मुगौहामा २५, दौलतपुर पशुपति स्कूलमा ६०, आरामिलमा २५, नङ्गापुर आश्रयस्थलमा १५, चख्खापुर आश्रयस्थलमा १२, भालुफाँटाको आश्रयस्थलमा १५९ र गेरुवा गाउँपालिकाअन्तर्गत सरस्वती मावि बनकट्टीमा २४ र अन्य घरपरिवारलाई छिमेकी तथा आफन्तको घरमा बस्ने व्यवस्था मिलाएको प्रजिअ सन्तबहादुर सुनारले बताउनुभयो ।

बाढीबाट प्रभावित भई आश्रयस्थलमा रहेकालाई स्थानीय तह, स्थानीय समुदाय समूह र बर्दिया अक्सिजन बैंकको सहयोगमा पिउने पानी, तयारी खाना र ११५ थान त्रिपाल वितरण गरिएको बताइएको छ ।यस अवधिमा नदीमा नुहाउन जाने, काठ दाउरा छोप्ने, माछा मार्ने, घुम्न जानेजस्ता असुरक्षित व्यवहार नगर्नु÷नगराउनु हुन जिल्ला प्रशासन कार्यालयले अनुरोध छ । कर्णाली नदीमा बाढी आउँदा पानीको सतह बढेकाले भौराटप्पु अत्यन्तै जोखिममा परेको छ ।

बाढीबाट गेरुवा गाउँपालिका–२, ३, राजापुर नगरपालिका–१ र ३ का राजीपुर, वन्कत्ती, पाताभर, सन्कत्ती वन्घुरा, तिउनी, तिक्लीगद, चनौरा, तिघ्रा, तिउनी सोनपुरका करिब एक हजार घर डुवानमा परेका छन् । बाढी पिडीतलाई स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय र गैरसरकारी सङ्घसंस्थाको सहयोगमा उद्धार कार्य भइरहेको जिल्ला समन्वय समितिका सभापति शङ्करप्रसाद थारूले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर