कोरोना भाइरसको संक्रमण समुदायमा फैलिएको निष्कर्ष निकाल्दै हेटौंडा र मनहरीमा निषेधाज्ञा



मकवानपुर । अन्तत नेपालमा कोरोनाभाइरसको संक्रमण समुदायमा फैलिएको छ । सरकारले अन्तिम समयसम्म कोरोना समुदायमा नफैलिएको रटान रेटीरहेका कारण मानिसहरु झनै अटेरी गर्दै भिडभाड र बिना काम हिँड्ने पुरानो शैलीमा परिवर्तन नल्याएकै कारण नेपालमा कोरोना समुदायमा नै फैलिएर भयाभह नै बनिसकेको छ ।

कोरोना समुदायमा गउको निष्कर्ष निकाल्दै मकवानपुरको स्थानीय प्रशासनले सोमबार मध्यरातबाट हेटौंडा उपमहानगर र मनहरी गाउँपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

आज जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले हेटौंडा उपमहानगरपालिका र पूर्व–पश्चिमसँग जोडिएको मनहरी गाउँपालिकाको दायाँ बायाँ ५ सय मिटर क्षेत्रमा निषेधाज्ञा जारी गर्दै साउन ३२ गतेसम्म अत्यावश्यक काम बाहेक अन्य कामकाजका लागि बाहिर ननिस्किन आव्हान गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले ओएस नेपाललाई जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी नेपालका अनुसार खाद्यान्न पसल बिहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएता पनि अति सावधानीका साथ मात्र खोल्नुपर्नेछ । त्यस्तै सरकारी तथा निजी कार्यालयहरु, गैरसरकारी, बैंक, वित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द हुनेछन् भने स्वास्थ्य संस्था र अत्यावश्यक सेवाका कार्यालय भने खुला गरिने प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए ।

Comment