ईश्वरीको जग्गामा कालो झन्डा गाड्ने सुकुम्बासी नेता पक्राउ, के छ भित्री चलखेल ?



पथरी – मोरङको पथरीशनिश्चरे नं. ३ को ईश्वरी सापकोटाको जग्गामा कालो झन्डा गाड्ने सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिको अध्यक्ष मौसम लिम्बुलाई आज (शनिबार) इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पथरीको डीएसपी दिलिप कुमार गिरीको आडमा इश्वरी सापकोटाले सुकुम्बासीहरुलाई दुःख दिएको भन्दै बिहिबार (साउन २९) कालो झन्डा गाडेको थियो ।
सापकोटा परिवारले वि.सं. २०५४ सालमा सो स्थानमा एक बिगाहा १७ कट्ठा जग्गा किनेका थिए । त्यो बेला ननापी फिल्ड देखाएकै भरमा जग्गा खरिद विक्री भएको थियो । अंश गर्ने बेलामा नाप्दा नौ कठ्ठा नपुगेपछि जग्गा मिलनको प्रयास स्वरुप पथरीशनिश्चरे नगरपालिकामा निवेदन आह्वान गर्दा सापकोटाले पनि फारम भरेका थिए । फारम वि.सं. २०७२ मा भरेका हुन् ।

उक्त कुरा थाहाँएपछि सिमानामा पर्ने मित्रलाल राई, सुमिल योङहाङ लिम्बु र गंगा गहतराजले सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिलाई निवेदन दिएको मौसम लिम्बुले जानकारी दिए ।

इश्वरी सापकोटाले सुकुम्बासीको नाममा लिम्बुबाट धम्की आएकोले ज्यानको सुरक्षा पाउँ भनेर इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा शनिबार (आज) अपरान्ह ३ बजे पथरीशनिश्चरे–१० मंगलबारे डाँडामा लिम्बु नास्ता खाँदै गर्दा भेन सहित प्रहरीहरु पुगेर गिरफ्तार गरेको लिम्बुसँगै खाजा खाईरहेका नयन श्रेष्ठले जानकारी दिए । प्रहरी नियन्त्रणमा रहेका लिम्बुलाई डीएसपी दिलिप गिरीले अभद्र व्यवहारमा कारबाही हुने जानकारी दिए ।

इश्वरी सापकोटा पथरी बजारमा स्थापित पथरी अस्पतालका सञ्चालक हुन् । सापकोटाले डिएसपी गिरी मेरो निकटका मान्छे हुन्, म जसरी पनि लिम्बुलाई पक्राउ गरेर एक रात भएपनि थुनाउँछु भन्ने धम्की दिएको सुकुम्बासीहरु बताउँछन् ।

इश्वरी सापकोटालाई सुकुम्बासीहरुले भूमाफियाको आरोप लगाउँदै आएका छन् । सापकोटा परिवार दोहोरो स्वामित्वको अन्य माफिया जस्तो नभएर वि.सं. २०५४ मा जग्गा खरिद गरेका थिए । यद्यपि माफियाकै लाइनमा जग्गा फिर्ता गर्न नगरमा फारम भरेका छन् ।

सापकोटा परिवारले कसैको जग्गा दावी नगरेको र भविष्यमा पनि नगर्ने भन्दै आएका छन् । राज्यले दिलाए मात्र लिने भनेर नगरपालिकामा फारम भरेको सापकोटाको भनाइ छ । सुकुम्बासीहरुले भने भूमाफियाको शैली सवैको यस्तै हुने भन्दै तीन परिवारको जग्गा तत्काल पास गरिदिन माग गरेको मौसम लिम्बुको भनाइ छ ।

जग्गा पास गरिदिन माग गर्दा धम्की दिएको आरोप लगाउँदै उजुरी दिएर प्रहरी लगाएर सुकुम्बासीहरु पक्राउ गर्न खोजेपछि इश्वरी सापकोटाको जग्गामा कालो झन्डा गाडेको सुकुम्बासीहरुको भनाइ छ ।

Comment