टाउकोमा लागेको चोटकै कारण भीमबहादुरको मृत्यु — OSNepal

टाउकोमा लागेको चोटकै कारण भीमबहादुरको मृत्यु

LC (KTM) October 21, 2021 0

चितवन, ४ कात्तिक- भरतपुर महानगरपालिका- ४ लंकुका ५८ वर्षीय भीमबहादुर बिकको मृत्यु टाउकोमा लागेको चोटकै कारण भएको पुष्टि भएको छ । बिकको टाउकोको पछाडिपट्टिको भागमा लागेको चोटका कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्ट प्राप्त भएको प्रहरीले जनाएको छ । भरतपुर अस्पतालमा बिकको शवको पोस्टमार्टम गरिएको हो ।

लंकुस्थित दुर्गा चोकमा दसैँको महानवमीका दिन दुई जना पुरुषको कुटाइबाट बिकको मृत्यु भएको थियो ।कुटपिटमा संलग्न स्थानीय ४० वर्षीय सीताराम बस्नेत र ३६ वर्षीय दिलीप श्रेष्ठलाई प्रहरीले सोही दिन पक्राउ गरेको हो । उनीहरू हाल प्रहरी हिरासतमा छन् ।

बिकको पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । ‘पोस्टमार्टम रिपोर्ट प्राप्त भएको छ । रिपोर्टअनुसार टाउकोको पछाडिको भागमा लागेको चोटकै कारण विकको मृत्यु भएको भन्ने छ’, उनले भने ।

महानवमीको दिन भीमबहादुर बिहानैदेखि मदिरामा लट्ठ थिए । उनले बीचमा मदिरा पिउन छाडेर पुनः सुरु गरेको तीन दिन मात्रै भएको थियो । मदिरामा लट्ठ भएका बिक बिहान साढे ९ बजेको समयमा अपशब्द प्रयोग गरी होहल्ला गर्दै दुर्गा चोकमा पुगेपछि स्थानीय सीताराम बस्नेतले उनलाई प्लास्टिकको पाइपले हानेर लखेटे । त्यसको करिब १० मिनेटपछि पुनः अपशब्द प्रयोग गरी हल्ला गर्दै बिक चोकमा पुगे ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार त्यस क्रममा बिकले पल्लवी फार्मेसीका संचालक दिलीप श्रेष्ठलाई अपशब्द बोल्दै गाली गलोज गरेका थिए । गाली गलोज र होहल्ला गर्दै बाटोपारि पुगेका बिकलाई आक्रोशित बनेका श्रेष्ठले त्यहीँ पुगी एक झापड हानेर धकेले । धकेलेपछि बिक भुइँमा उत्तानो परेर पछारिए । पिच सडकमा पछारिएका बिकको टाउकोको पछाडिपट्टिको भागमा चोट लाग्यो । उनी बेहोस भए ।

बिक बेहोस भएपछि झापड हान्ने श्रेष्ठ आत्तिए । आफ्नो फार्मेसीमा लगेर सामान्य उपचार गराउने प्रयास गरे । संभव नहुने देखेपछि आफ्नै गाडीमा हालेर श्रेष्ठले बिकलाई चितवन मेडिकल कलेज पुर्‍याए । त्यहाँसम्म पुग्दा बिकको मृत्यु भइसकेको थियो ।

सीसी क्यामेराले काम गरेन

घटनाको थप अनुसन्धानका लागि सीसी क्यामेरा प्रभावकारी हुने प्रहरीको अपेक्षा थियो । दुर्गा चोकको एउटा मात्र पसलमा सीसी क्यामेरा जडान गरिएको पाइएपछि प्रहरीले सीसी क्यामेराको हार्ड डिस्क लिएर गएको छ । यद्यपि, उक्त सीसी क्यामेराले पहिलेदेखि नै काम नगरेको पाइएको छ ।

दुर्गा चोकबाट करिब ३०० मिटर दक्षिणतर्फ मृतक बिकको घर छ । उनका श्रीमती, एक छोरा र तीन छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर