बाढी, पहिरोमा परी मृत्यु भएकाको शव परीक्षण नगरी दाहसंस्कार गरिने — OSNepal

बाढी, पहिरोमा परी मृत्यु भएकाको शव परीक्षण नगरी दाहसंस्कार गरिने

LC (KTM) October 21, 2021 0

पाँचथर- पाँचथरमा बाढी तथा पहिरामा परी मृत्यु भएकाको शव परीक्षण नगरी दाहसंस्कार गरिने भएको छ । आज बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले शव परीक्षण गरी दाहसंस्कार गर्नसक्ने अवस्था नरहेको देखिएकाले सो निर्णय गरेको हो । यद्यपि दाहसंस्कारका लागि ‘शङ्कास्पद स्थितिमा मृत्यु भएको देखिन नआई विपत् प्रकोप (बाढी, पहिरो)कै कारण मृतकको मृत्यु भएको स्पष्ट यकीन भएको’ मुचुल्का भने तयार पार्नुपर्ने बैठकले निर्णय गरेको छ । सम्बन्धित वडाको वडाध्यक्षको रोहबरमा स्थानीयवासीलाई साक्षी राखी प्रकोपकै कारण मृत्यु भएको मुचुल्का गरी दाहसंस्कार गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिनुभयो ।

बाढी र पहिराका कारण हालसम्म जिल्लामा २६ जनाको मृत्यु भएको पुष्टि भएको छ । गाउँमा मृत्यु भएकालाई बजारी क्षेत्रमा पु¥याई शव परीक्षण गर्न सकिने अवस्था नरहेको तथा चिकित्सकलाई गाउँमा लगेर शव परीक्षण गर्नसक्ने स्थिति नरहेकाले सो निर्णय गरिएको प्रजिअ ढकालले बताउनुभयो ।

बैठकले जिल्लामा विपत्को स्थितिबारे थप सचेत र सजग भई उद्धार र राहतका कार्यलाई तीव्र र व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिएको भन्दै सो प्रकारको तयारी गर्ने निर्णयसमेत गरेको छ । बाढी तथा पहिराका कारण पाँचथरमा हालसम्म २६ जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता छन् । यस्तै आठ जना घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर