काठमाडौंमा दुई दिनको छायांकन सकाएर मनाङ हानिए बलिउड कलाकार अनुपम र परिणिती — OSNepal

काठमाडौंमा दुई दिनको छायांकन सकाएर मनाङ हानिए बलिउड कलाकार अनुपम र परिणिती

LC (KTM) October 23, 2021 0

काठमाडौंँ – गत ४ अक्टोबरदेखि नेपालमा भारतीय फिल्म उचाइको छायांकन भइरहेको छ । काठमाडौंमा दुई दिनको छायांकन सकाएर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले त्यहाँको सुन्दरता कैद गरिरहेको छ ।

लुक्ला, नाम्चेको छायांकन सकेपछि यतिबेला फिल्म युनिट मनाङको रमणीय दृश्य छायांकन गरिरहेको छ । दुई दिनअगाडि नै प्राविधिक पुगेर छायांकनको लागि तयारी सकेपछि फिल्मका मुख्य कलाकारहरू अनुपम खेर, परिणिती चोपडा र बोमन इरानी पनि मनाङ पुगेका छन् ।

आठ दिनको सेड्युल लिएर मनाङमा पुगेको युनिटले निर्धारित समयमा नै छायांकन सकाएर फर्किनेछ । दुई दिन छायांकन नहुने भएपछि फिल्मका मुख्य कालाकारहरू अनुपम, बोमन र परिणिती काठमाडौंँ फर्किएका थिए । उनीहरू शुक्रबार मनाङ पुगेका हुन् ।

जहाँ उनीहरूलाई स्थानीय परम्पराअनुसार स्वागत गरिएको छ । अनुपम स्थानीय संस्कृतिसँग घुलमिल भइरहेको आभास उनको सामाजिक सञ्जालमार्फत सहजै लगाउन सकिन्छ । नेपालका प्रोडक्सन म्यानेजर अरुण रेग्मीले मौसमले केही समस्या ननिम्त्याए निर्धारित समयमै छायांकन सकेर फिल्म युनिट काठमाडौं हुँदै भारत फर्किने बताए ।

मित्रताको कथा भन्ने फिल्ममा अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडालगायतको अभिनय रहेको छ । यद्यपि, सो फिल्म सुटिङका लागि अमिताभ बच्चन भने नेपाल आएका छैनन् ।

चार जनाको मित्रताको कथा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने बुझिएको छ । बलिउडको प्रसिद्ध व्यानर राजश्री प्रोडक्सनले निर्माण तथा सुरज बडजात्याको निर्देशनमा फिल्म तयार भइरहेको छ ।

नेपालमा ३० दिनको छायांकन सेड्युल रहेको नेपालको लाइन प्रोड्युसर कम्पनी थ्री ह्विलर्स फिल्म्सका सुरज आचार्यले बताए । न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर