प्रधानन्यायधीशका कारण सर्वोच्चको मुद्दा सुनुवाइ प्रभावित — OSNepal

प्रधानन्यायधीशका कारण सर्वोच्चको मुद्दा सुनुवाइ प्रभावित

LC (KTM) October 24, 2021 0

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक भूमिकामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतकै न्यायधीशहरूले इजलास बहिष्कारको चेतावनी दिएपछि सर्वोच्च अदालतमा मुद्दा सुनुवाइ प्रभावित भएको छ ।

प्रधानन्यायाधीशले कार्यपालिकामा भाग खोजेको, मुद्दाको फैसलामा चलखेल गरेकोलगायतका आरोप लगाउँदै पूर्वन्यायाधीशहरू र नेपाल बार आन्दोलित भएपछि सर्वोच्चकै न्यायाधीशहरूसमेत इजलास बस्न मानिरहेका छैनन् ।

केही न्यायाधीशले प्रधानन्यायाधीशमाथि उठेको प्रश्नको निरूपण नभएसम्म इजलास बस्न नसकिने बताएपछि आजका सबै मुद्दाको सुनुवाइ प्रभावित भएका छन् । मुद्दा प्रभावित हुने देखेपछि प्रधानन्यायाधीशसहित सर्वोच्चका पाँचजना न्यायाधीशहरू यतिवेला छलफलमा जुटेका छन् ।

न्यायाधीशहरूबीच छलफल सुरु भए पनि आजका लागि तोकिएका कुनै पनि मुद्दाको सुनुवाइ सुरु भएको छैन । सर्वोच्च अदालतकै एकजना न्यायाधीशका अनुसार प्रधानन्यायाधीशविरुद्ध सुरु भएको असन्तुष्टिलाई कसरी सम्बोधन गर्ने भनेर यतिवेला न्यायाधीशहरू दिपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा समूहगत छलफलमा जुटेका छन् ।

ती न्यायाधीशका अनुसार प्रधानन्यायाधीशले समूहगत छलफलको निष्कर्षअनुसार अघि नबढे केही न्यायाधीशहरूबाट इजलासमा नबस्ने घोषणा हुनेछ ।

आफ्नो कोटाबाट मन्त्रीको भाग खोजेको, मुद्दा फैसलामा अस्वाभाविक चलखेल गरेकोलगायतका कारण देखाउँदै यसअघि नै पूर्वन्यायाधीशहरूको संगठनले प्रधानन्यायाधीश राणालाई मार्गप्रशस्त गर्न सुझाव दिइसकेको छ । नेपाल बारले समेत मार्गप्रशस्त गर्नुपर्ने भन्दै आन्दोलतको तयारी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर