• २०७८, बैशाख २३ गते बिहिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

राजा महेन्द्रले शिलान्यास गरेको कान्ति लोकपथ अझै अधुरो, ६४ वर्षमा पनि बनेन ९० किलोमिटर सडक

राजा महेन्द्रले शिलान्यास गरेको कान्ति लोकपथ अझै अधुरो, ६४ वर्षमा पनि बनेन ९० किलोमिटर सडक

  • ओएसनेपाल
  • चैत्र २९, २०७७ आइतवार ०८:१५ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < २ मिनेट
  • 304
    SHARES
  • ललितपुर । सातदोबाटोदेखि मकवानपुरको हेटौँडा जोड्ने कान्ति लोकपथ निर्माण थालिएको ६४ वर्ष बित्दा पनि पूरा हुन सकेको छैन । आयोजना निर्माणमा अहिलेसम्म कति खर्च भयो भन्ने हिसाबसमेत सरकारसँग छैन । सडक निर्माणका लागि सेनाको नेतृत्वमा ०१३ मा ट्र्याक खन्न सुरु गरिएको थियो । यो काम ०१६ मा सकियो । त्यतिवेलै ट्र्याक उद्घाटन गर्दै राजा महेन्द्र हेटौँडाको बुद्धचोकदेखि जिपमा ललितपुरको टीकाभैरवसम्म आएका थिए । राजा महेन्द्रले कान्ति लोकपथको उद्घाटन गरेको शिलालेख ठिंगन खण्डको सडकको भित्तामा अहिले पनि देखिन्छ । तर, त्यसयता सडकको स्तरोन्नतिको काम कछुवा गतिमा समेत हुन सकेन । 

    ६४ वर्षमा आयोजनाका नाममा राज्यको ठूलो धनराशि खर्च भएको छ । तर, त्यसको विवरण पनि सरकारसँग छैन । काठमाडौंस्थित कान्ति लोकपथ सडक आयोजनाका अनुसार आर्थिक वर्ष ०७०र७१ यता मात्रै दुई अर्ब ५८ करोड रुपैयाँ खर्च भइसकेको छ । त्यसअघि भएको खर्चको विवरण न आयोजनासँग छ, न सडक विभागसँग नै । ‘ट्र्याक खन्ने काम ०१६ मै सकिएको देखिन्छ । तर, सडक निर्माणको काम अझै हुन सकेको छैन । आयोजनामा पछिल्लो समय भएको खर्च विवरण त होला, तर पहिला कति भयो त्यसको हिसाब नै छैन,’ आयोजना कार्यालयका पूर्वप्रमुख कपिलविष्णु काफ्लेले भने । 

    यो आयोजना पछिल्लो १३ वर्षदेखि कान्ति लोकपथ सडक आयोजनाअन्तर्गत निर्माण हुँदै आएको छ । त्यसअघि ललितपुर सडक डिभिजन र मकवानपुर सडक डिभिजन कार्यालयअन्तर्गत निर्माण हुँदै आएको थियो । तर, त्यतिवेला निर्माण कार्यले गति लिन सकेन । लोकपथको कुल लम्बाइ ९० किमि थियो । सडकको चौडाइ सुरुमा ५।५ मिटर तय भएको थियो । तर, पछि ८।५ मिटर निर्धारण गरिएको छ । लोकपथको ५१ किमि भाग मकवानपुरमा र बाँकी ३९ किमि खण्ड ललितपुरमा पर्छ । मकवानपुरको चौघडा–चुनडाँडा–मकवानपुरगढी–जितपुर–ठिंगना–बागमती हुँदै लोकपथ ललितपुरको बगुवा–कल्चेभिर–छपेली–झाँक्रीडाँडा–तिनपाने भञ्ज्याङ–टीकाभैरव हुँदै सातदोबाटोमा जोडिन्छ ।

    अहिलेसम्म आयोजनाको ८० प्रतिशत मात्रै भौतिक प्रगति छ । १५ किलोमिटरबाहेकको खण्ड कालोपत्रे गरिएको छ । चालू आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिने आयोजनाले जनाएको छ । तर, लामो समयदेखि आयोजनाले पटक–पटक म्याद सार्दै आएको छ । निर्माण भएको सडकका विभिन्न खण्ड पनि बर्खाको बाढीपहिरोले क्षतविक्षत हुने गरेका छन् । कहीँ सडक धस्सिएको छ भने कतै पहिरोले बगाएको छ । कुनै ठाउँ पहिरोका कारण सडक पुरिएको छ । तर, सार्वजनिक यातायातका साधन चलेका छैनन् । 

    आयोजनाका लागि सरकारले प्रत्येक वर्ष बजेट विनियोजन गर्छ । सडक विभागले टेन्डर निकाल्छ । तर, डोजर लिएर ठेकेदारले उही ढिस्कोलाई कहिले यता पन्छाउँछन् त कहिले उता । दशकौँदेखि चल्दै आएको यो प्रक्रियाले सीमित ठेकेदारको मुहारमा त पटक–पटक कान्ति ल्याएको छ । तर, सडकको अवस्था जस्ताको तस्तै छ ।  कान्ति लोकपथ निर्माण भए हेटौँडा–काठमाडौं दूरी एक सय ३२ किमि छोटिन्छ । अहिले मुख्यतया सञ्चालनमा रहेको हेटौँडा–नारायणगढ–मुग्लिन–नागढुंगा सडकको लम्बाइ दुई सय २२ किमि छ । कान्ति लोकपथ निर्माण भए ९० किमि यात्रामै काठमाडौं पुग्न सकिन्छ । समय र इन्धन दुवैको बचत हुन्छ । 

    सरकारको प्राथमिकतामा परेको भए कान्ति लोकपथलाई नै ‘फास्ट ट्र्याक’का रूपमा विकास गर्न सकिने अवस्था पनि थियो । यसका लागि लोकपथको साबिक रुटलाई मकवानपुरको ठिंगनबाट निजगढ जोड्नुपर्ने हुन्थ्यो । ललितपुरको सातदोबाटोदेखि निजगढसम्म यो रुटको दूरी ८० किमि मात्रै हुन्छ । तर, ६४ वर्ष पुरानो लोकपथलाई उपेक्षा गरेर सरकारले फास्ट ट्र्याकमा मात्र अन्धाधुन्ध पैसा खन्याइरहेको छ । ९० किलोमिटर लामो कान्ति लोकपथको समानान्तर ७२।५ किलोमिटर फास्ट ट्र्याक निर्माण भइरहेको छ । तर, कुनै पनि सडकको निर्माण फास्ट ट्र्याकमा छैन । 

    राज्यले नै प्राथमिकतामा नराखेका कारण राजा महेन्द्रले ६ दशकअघि नै जिप कुदाएको कान्ति लोकपथमा अहिले दूध बोक्ने एक–दुईवटा ट्रक र फाट्टफुट्ट मिनिबस मात्रै चलेको देखिन्छ । सरकारको प्राथमिकतामै नपरेर आयोजनाको यस्तो दुर्गति भएको आयोजनाका पूर्वप्रमुख काफ्लेको भनाइ छ । नयाँ पत्रिकामा खबर छ ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com