आगलागी नियन्त्रणका लागि फायर होज पाइपको परीक्षण र अभ्यास — OSNepal

आगलागी नियन्त्रणका लागि फायर होज पाइपको परीक्षण र अभ्यास

LC (KTM) March 11, 2023 0

ताप्लेजुङ – ताप्लेजुङ सदरमुकाम फुङलिङमा अग्नि नियन्त्रणका लागि प्रयोग हुने फायर होज पाइप र उपकरणको प्रयोगसम्बन्धी अभ्यास गरिएको छ । फुङलिङ नगरपालिकाले बजार क्षेत्रमा हुने आगलागी नियन्त्रणका लागि पम्पसहितको पाइप खरिद गरेर आज यसको परीक्षणसहित प्रयोग गर्ने अभ्यास गराएको हो । अभ्यासमा सुरक्षाकर्मी, नगरपालिकाका कर्मचारी र स्थानीयवासी सहभागी थिए ।

अभ्यासका क्रममा फुङलिङको वीरेन्द्र चौकस्थित पोखरीको पानी प्रयोग गरिएको थियो । करिब नौ सय मिटर लामो फायर होज पाइप जडान गरी परीक्षणसहित प्रयोग गर्ने अभ्यास भएको नगरप्रमुख अमीर मादेनले जानकारी दिनुभयो । पम्पको प्रयोगले पानीको उच्च प्रवाह हुँदा आगो नियन्त्रण गर्न सहज हुने देखिएको उहाँको भनाइ छ । बजार क्षेत्र र बाक्लो बस्तीमा दमकल पुग्न नसक्ने भएकाले पाइप खरिद गरेर ल्याइएको उहाँले बताउनुभयो । “पोखरी निर्माण गरेर आगलागी नियन्त्रणमा पाइपको प्रयोग गर्न सकिने देखियो, दमकल नछिर्ने बजार र बाक्लो बस्तीमा हुने आगो नियन्त्रणमा यो उपकरणको प्रयोग प्रभावकारी छ”, उहाँले भन्नुभयो ।

लचिलो रबर र बुनेको कपडाबाट तयार भएको फायर होज पाइपलाई सानो गल्ली वा बाटोबाट सहजै घुमाउन सकिने भएकाले यो प्रभावकारी हुने बताइएको छ । विभिन्न लम्बाइमा पाइने पाइपलाई एकआपसमा जडान गरेर लामो वा छोटो बनाउन सकिने नगरपालिकाले जनाएको छ । पानीको मुहान वा पोखरीमै पम्प राखेर पानीको प्रवाहलाई तीव्र बनाउन सकिन्छ ।

सदरमुकाम फुङलिङ विभिन्न समयमा हुने आगलागीको चपेटामा पर्दै आएको छ । बजार क्षेत्रमा बर्सेनि साना ठूला आगलागीका घटना हुँदै आएका छन् । आगलागीको जोखिमलाई मध्यनजर गर्दै नियन्त्रणका लागि नगरपालिकाले यो विधि अपनाएको हो । नगरपालिकासँग अग्नि नियन्त्रणका लागि एउटा दमकल रहेको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर