अष्ट्रेलियामा पृथ्वी-जयन्ती तथा अन्तर्राष्ट्रिय नेपाली दिवश भर्चुअल मनाइयो — OSNepal

अष्ट्रेलियामा पृथ्वी-जयन्ती तथा अन्तर्राष्ट्रिय नेपाली दिवश भर्चुअल मनाइयो

LC (KTM) January 12, 2022 0

अष्ट्रेलियामा बस्ने नेपालीहरूले कोरोनाको नयाँ भेरियन्ट ओम्रिकनको प्रभाव बढेको कारण पृथ्वी जयन्ति तथा अन्तर्राष्ट्रिय नेपाली दिवश कार्यक्रम भर्चुअल रूपमा मनाएका छन्। नेपाली राष्ट्रियताका प्रणेता र आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको सम्मान र सम्झनामा अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूले पृथ्वी जयन्तीलाई ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’का रूपमा मनाएका हुन्। जुम मार्फत भर्चुअल बनेको कार्यक्रममा अष्ट्रेलियाका विभिन्न राज्य तथा अमेरिका र क्यानडामा रहेका नेपालीहरूको समेत सहभागीता रहेको थियो। कार्यक्रममा सहभागीहरूले पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेर बलियो सुदृढ देशका साथै विश्वमानचित्रमा नेपालीलाई स्थापित गरेको बताए। सहभागीहरूले नेपालमा बढ्दै गएको ध्रुविकरण प्रति चिन्ता व्यक्त गर्दै जात, धर्म, राजनीतिक आस्था भन्दा पनि माथि उठेर नेपाली पहिचानमा गर्व गर्ने वातावरण सृजना गर्नुपर्नेमा जोड दिए।

अष्ट्रेलियाका नेपाली युवा सामाजिक अभियन्ता दिपक पौडेलले श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियान र भूमिकाबारे टिप्पणी गर्ने हैसियत वर्तमानको राजनीतिक नेतृत्व र विभिन्न स्वघिषत अभियन्ताहरूको नरहेको बताए। उनले भने, ‘ईतिहासलाई गर्व नगर्ने र त्यसबाट नसिक्ने हो भने हामी नेपाली कहिल्यै अगाडी बढ्न सक्दैनौं।’ अष्ट्रेलियन नेपाली समाजका प्रसिध्द लेखक चिन्तक नवराज खरालले टिस्टा काँगडामा छुटेका नेपालीले देश गुम्दाको पीडा नेपाल भित्रका नेपालीले बुझ्न नसकेको बताए। एनआरएन अष्ट्रेलियाका पूर्व प्रवक्ता तथा लेखा, वित्त तथा बैकिङ व्यवसायी डिला खरेलले नेपाली राष्ट्रियता र ईतिहास विश्वभर छरिएका नेपालीहरूमा गर्वको रूपमा रहेको बताउँदै त्यसलाई दोश्रो तेश्रो पुस्तामा समेत स्थापित गर्नमा जोड दिनुपर्ने बताए। उनले पृथ्वी जयन्तीलाई अन्तर्राष्ट्रिय नेपाली दिवशको रूपमा अगाडि बढाएर विश्वभर छरिएका नेपालीहरूको गर्व र एकताको दिवश बनाउनु पर्नेमा जोड दिए।

अन्तर्राष्ट्रिय नेपाली दिवश आयोजक समितीका संयोजक मदनमणि अधिकारीले अन्तराष्ट्रिय राजनीति, रणनीति र नेपालको अवस्थितीका कारण वर्तमानमा नयाँ न्यारेटिभ स्थापनाका लागी भएका चलखेलले हाम्रो आफ्नै ईतिहास र पहिचानमा शंका र प्रश्न उठ्ने, नेपाली जातिको ईतिहास र एकतालाई नै भताभुंग पार्ने अवस्था आईसकेको बताए। उनले भने देशको संगिन घडीमा विश्वभर छरिएका नेपालीहरू सचेत र एक हुनुपर्छ भन्ने सन्देशका साथ नेपाली आत्मगौरव र आत्मबोधको चेत खोल्न  पृथ्वीनारायण शाह माध्यम बन्न सक्छन्। अष्ट्रेलियामा सामुदायिक पत्रकारिता गर्ने सरल गुरूङले यति खेर नेपालीलाई पृथ्वीनारायण शाह जस्तै पात्रको आवश्यकता रहेको बताए। उनले भने, ‘हामी जात, धर्म लगायत अनेक नाममा विभाजित भएका छौं। अहिले नेपालीलाई एक पार्ने माला चाहिएको छ नेपालमा।’ त्यस्तै क्यानडामा रहेर अन्तर्रष्ट्रिय मिडियामा सम्लग्न  अरूण बुढाथोकीले अहिले हल्ला चलेको जस्तो राज्य विस्तार नभई पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको बताए।

अष्ट्रेलियाको राजधानी क्यानबेराबाट गैर आवासिय नेपाली महासंघमा सक्रिय नेतृत्वमा रहेका महासचिव राजु अधिकारीले अन्तर्राष्ट्रिय नेपाली दिवशले अन्तर्राष्ट्रिय रूपमा  नै नेपाली पहिचान स्थापना गर्न मदत पुग्ने बताए। पृथ्वीनारायण शाहलाई यसखालको दिवशको केन्द्रमा राख्दा नेपाल र नेपालीको राष्ट्रिय भावना समेटिने उनको कथन थियो। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)मा आवद्द अष्ट्रेलियन नेपाली साहित्यकार प्रकाश पौडेलले ततकालिन ब्रिटिश साम्राज्यसँग जुधेर नेपालको सार्वभौमिकता कायम गरेको ईतिहासलाई मानेर अगाडी जानुपर्ने बताए। उनले थपे, ‘ईतिहासलाई कसैले पाना च्यातेर हराउन सकिँदैन। ईतिहास मेटेर नेपाली नेपाली रहन सकिँदैन।’ पितृ मान्ने परम्पराबाट दिक्षित नेपालीहरूले नेपालीहरूको अहिलेको स्थान बन्नुमा पृथ्वीनारायणको भूमिकालाई सम्मान गर्दै राष्ट्रियताको जगेर्नामा लाग्नुपर्ने अर्का वक्ता सूर्य गौतमको कथन थियो।

अष्ट्रेलियाको न्यूसाउथवेल्समा पृथ्वीनारायणको सम्झना भर्चुअल भएपनि ब्रिजबेन, क्यानबेरा, मेलबर्न, एडिलेड, तासमानिया, डार्बिन लगायतका मुख्य शहरहरूमा पृथ्वीनाराय शाहको प्रतिमामा माल्यार्पण गरेर भौतिक रूपमा नै पृथ्वी जयन्ती तथा अन्तराष्ट्रिय नेपाली दिवश मनाईएको थियो। नेपालीपेजडटकम ( https://nepalipage.com )ले आयोजना गरेको भर्चुअल कार्यक्रममा अष्ट्रेलियामा क्रियाशिल बहुसंख्यक नेपाली सामुदायिक संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता थियो। अष्ट्रेलियाली नेपाली समाजमा अग्रणि भूमिकामा रहेका प्रकाश पौडेल, राजु अधिकारी, सरल गुरुङ, सुरेन्द्र दवाडी, सुर्य प्रसाद दवाडी, लिलाधर पौडेल, ईश्वर कुईंकेल, कंचन पोखरेल, राजकुमार थापा, अजय राजवंशी लगायतले पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै विश्वभर फैलिएका नेपालीहरूले अन्तर्राष्ट्रिय नेपाली दिवश मार्फत नेपाली हुनुको आत्मबोध गर्नुपर्नेमा जोड दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर