एमाले अधिवेशन : चितवनका पाँच पालिकामा सहमतिको प्रयास जारी, खैरहनीमा विवाद — OSNepal

एमाले अधिवेशन : चितवनका पाँच पालिकामा सहमतिको प्रयास जारी, खैरहनीमा विवाद

LC (KTM) October 27, 2021 0

चितवन, १० कात्तिक – नेकपा (एमाले)को १०औँ महाधिवेशनअन्तर्गत मंगलबार चितवनका सातमध्ये पाँच पालिकामा एमाले गाउँ/नगर कमिटीको अधिवेशन भएको छ । मंगलबार विवादका बीच खैरहनी नगर कमिटी घोषणा गरियो भने अन्य पालिकाको अधिवेशन बुधबारसम्मका लागि स्थगित गरिए । भरतपुर महानगरमा १५ कात्तिकमा अधिवेशन हुनेछ । इच्छाकामनामा बुधबार हुँदै छ ।

गाउँ/नगर कमिटीको नेतृत्व चयन गर्ने विषयमा विवाद देखिएको ठाउँमा सहमतिको प्रयास जारी रहेको नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले बताइन् । ‘पालिकाको नेतृत्वदेखि विभिन्न पदमा साथीहरूले इच्छा जाहेर गर्नुभएको छ । हामी छलफलमै छौँ । अझै केही समय लाग्छ’, उनले भनिन्, ‘खैरहनीको विवाद समाधानका लागि पनि छलफल गर्दै छौँ ।’

खैरहनीमा असन्तुष्ट पक्षले समानान्तर नगर कमिटी घोषणा गरेका छन् । खैरहनीमा वडा कमिटी गठनदेखि नै चरम विवाद देखिएको थियो । एमालेभित्र विगतमा माधवकुमार नेपाल निकट मानिएका उम्मेदवारलाई वास्तै नगरी ओली पक्षले एकलौटी रूपमा नगर कमिटी घोषणा गरेपछि विवाद उत्कर्षमा पुगेको हो ।

सहजीकरण कार्यदल संयोजक जेएन थपलियाले मंगलबार पूर्णबहादुर डल्लाकोटीको अध्यक्षतामा नगर कमिटी घोषणा गरेलगत्तै कार्यदल सदस्य केशव कँडेलले सो घोषणा एकलौटी भएको भन्दै समानान्तर कमिटी घोषणा गरेका हुन् । कँडेलले घोषणा गरेको नगर कमिटी अध्यक्षमा डल्लाकोटीको नेतृत्वमा नगर कमिटीमा उपाध्यक्ष बनाइएका छत्र सुवेदी रहेका छन् ।

डल्लाकोटी अध्यक्ष रहेको कमिटीको सचिवमा गोपाल परियार छन् । दुई सहसचिव पछि थप गर्नेगरी ५७ सदस्यीय नगर कमिटी थपलियाले घोषणा गरेका हुन् । उम्मेदवारको विषयमा थपलियाले आफूहरूसँग छलफल नै नगरी गोजीबाट चिट निकालेर कमिटी घोषणा गरी भागेको कँडेलले आरोप लगाए ।

जिल्लाले पठाएको सहजीकरण कार्यदलका संयोजकले नै एकलौटी गरेपछि आफूहरूले नयाँ कमिटी घोषणा गरिएको कँडेलले बताए । कँडेलले घोषणा गरेको कमिटीको उपाध्यक्षमा लालमणि कुँवर, सचिवमा सुन्दर मैनाली र सहसचिवमा रत्ना श्रेष्ठ र ओमनाथ भट्टराईलाई चयन गरिएको छ । उनले ६५ सदस्यीय नगर कमिटी घोषणा गरेका हुन् । नगर कमिटीको नामावली बुधबार पार्टी कार्यालयमा लगेर बुझाउने उनले बताए ।

रत्ननगर नगरपालिका नगर कमिटीमा सहमति जुट्न नसकेपछि बुधबार (आज) सम्मको लागि अधिवेशन स्थागित गरिएको छ । अध्यक्षमा ईश्वरीप्रसाद अर्याल र प्रताप डल्लाकोटी, उपाध्यक्षमा लोकराज भुषाल, अशोक दराई, सीताराम पोखरेल र पुष्प जोशी, सचिवमा शिवराज सुवेदी र किशोर खनाल, उपसचिवमा सागर मिश्र, अमित गुप्ता, अर्पणा तिवारीलगायत आठ जनाको उम्मेदवारी परेको छ ।

राप्ती नगरपालिकामा पनि सहमति नजुटेपछि अधिवेशन बुधबारसम्मको लागि स्थगित भएको छ । माडीमा नगरकमिटीको अध्यक्षमा चार जना उम्मेदवार उठेपछि बुधबार सहमतिको प्रयास गरिँदै छ । माडी नगर कमिटीको अध्यक्षमा वर्तमान नगरकमिटी अध्यक्ष रेशम आचार्य, नारायण अधिकारी, रामेश्वर चौधरी र श्रीप्रसाद दवाडीले इच्छा देखाएका छन् । कालिका नगरपालिकामा पनि सहमति जुटेको छैन ।

नेतृत्वका लागि स्थानीय सहजीकरण कार्यदलले गरेको प्रयास सफल नभएपछि जिल्ला कार्यदलले प्रयास गर्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर