OSNepal बिहिबार, मंसिर १६ २०७८

मंसिर लाग्यो त !

मंसिर लाग्यो त !

  • OSNepal
  • शुक्रबार, मंसिर ३ २०७८


मंसिर लाग्यो त !
Reading Time: 3 minutes

नारायण प्रसाद चापागाई –
‘मंसिर लाग्यो त ! कहिले हो भोज खुवाउने’ ?
मंसिरको महिना शुरुभएपछि २२ र २५ वर्षका युवायुवतीलाई साथीभाई वा आफन्त जोकोहीले तेर्साउने प्रश्न हो यो ।
प्रश्नमा समानता रहे पनि यसको जवाफ भने व्यक्ति अनुसार यसरी मिश्रित आउने गर्छ ।
१ः ‘भोज खुवाउन किन मंसिर चाहियो, अहिले नै खुवाउदिउँला’
२ ‘विहे भन्ने कुरो लेखान्तर हो, दिन आएपछि खुवाउँला नी’
३ ‘मलाई मिल्ने मान्छे खोज्नुस् न त’
४ ‘विवाहको पछिल्लो दुई अक्षर ‘वाह’ भन्ने चिज हरायो अहिले’ ।
अलि फन्टुसले १ नं. को जवाफ देला, भावुक छ भने २ नंं को जवाफ फर्काउला, विहे गर्न हतार नै भएकोले ३ नं. को जवाफ दिएर लमी बनाइदेला, साहित्यिक मान्छे पर्याे भने ४ नं. को वाणी प्रस्तुत गर्ला । जे होस्, प्रश्नको झटारो खसिसकेपछि युवायुवतीले दिने उत्तरहरु यी र यस्तै हुन् ।
प्रश्नको जवाफ सामान्य रुपले दिने हुन् या गहन तरिकाले, जोकोहीको पनि भित्री मनमा मान्छेहरुले सोध्ने यी प्रश्नहरुले हैरान पारिरहेको हुन्छ । अर्कातिर, फेसवुक वालभरि भरिएका विहेका झिलीमिली फोटाहरुले मनलाई लोभ्याइरहेका हुन्छन् । वाह्य वातावरण यस्तो भएपछि नवयौवनाको आन्तरिक वातावरण हलचल नहुने कुरै भएन । युवामनले प्रेम, विहे, परिवार, सम्बन्धको वारेमा बढी सोच्ने महिना कुन हो भनेर प्रश्न गर्ने हो भने अधिकांशको उत्तर मंसिर आउनेमा दुई मत नहोला ।

कोहीसँग प्रेम सम्बन्धमा रहेकोलाई त समस्या नहोला, अझ आजकलको अफेयर.. लव गर्ने तर विहे नगर्ने सम्झौतामा रहेकोलाई त काइदा नै होेला तर वाइस पच्चिस वर्ष उमेर कटेका र प्रेम सम्बन्धमा नरहेका युवाहरुलार्ई यो समय तनावपुर्ण हुन्छ । आफन्तले देखाएको केटा र केटी मन नपर्दा मन परेन भन्न मिलेन, विहे गर्न मन छैन भन्नुपर्याे । आफुलाई मन पर्नेले आफुलाई फर्केर हेर्दैनन्, आफुलाई मन नपर्नेहरु टाँसिन आइपुग्छन्, अरुका विहेका फोटो हेर्दा उनैका बुढारबुढी मन पर्छन् । यो अचम्मको उमेरका अनौठा अनुभव धेरैले लिइसके, धेरै लिने क्रममा छन् ।
यसपालीे, असारको सात दिने झरी, विनाशकारी बाढी र पहिरोमा पनि युवायुवतीहरु विवाह बन्धनमा बाँधिएरै छोडे । दुई दिनसम्म मुग्लीनको जाममा परेका जोडीहरुले संयुक्त फोटो खिचेर रेकर्ड राखे । त्यो भन्दा ठुलो रेकर्ड राखे कृष्णभीरमा सुहागरात मनाएर । खाने मुखलाई जुँगाले छेकेन । जुँगाले होइन, कृष्णभीरको पहिरोले छेकेन भनौँ ।

यो साल सबैभन्दा बढी विहेको लगन असारमा थिए, त्यसपछि मंसिरमा छन् । यसपाली चैँ विहेको भेलबाढीमा वग्न पाउने लालसाले कतिको मनमा लड्डु फुटेको होला, अर्काेतिर आफुभन्दा सानोले विहे गरेर घोर्ले छोरा पाइसक्दा पनि आफ्नो विहे नभएकोमा कुडिएर बस्ने कति होलान् । मंसिरमै विहे हुने पक्का भैसकेका कतिले त जनगणनामा आउने गणकलाई मेरो विहे पछि तथ्यांक लिन आउनु भन्दै फर्काए होलान् ।
आफ्नो विहे नहुँदासम्म अधिकांश युवा मनले आफुलाई राम्रा लाग्ने केटारकेटी आफ्नै जीवनसाथी हो कि झैँ ठान्छ । जापानकी राजकुमारी माकोले एउटा गरिब परिवारको आफ्नो प्रेमी किइ कोमुरोसँग विवाह गर्न राजगद्धी नै त्याग गरेको उदाहरण पेश गर्दै एउटा गरिब नेपाली ठिटोले पुर्णिका साहलाई आफ्नै प्रेमिकाको रुपमा सजाउन थाल्छ । अन्जु पन्त र स्वेता खड्का एकल हुँदा मनमा लड्डु फुटाउनेहरु उनीहरुले दोस्रो विहे गरेपछि निराश भए होलान् । यता रिमा विश्वकर्माले अव विहेको कुरा गर्ने बेला आएको छ भन्दा कतिका निस्क्रिय तन्तु सक्रिय हुन थाले होलान् ।

पल साहसँग प्रेम सम्बन्ध होइन भनेर समीक्षा अधिकारीले भन्दा पल साहका प्रशंसक युवतीहरु खुसी होलान् । ऋषि धमला र एलिजाको जोडी देखेर मुख मिठाउँदै आफु राम्रो नभएर के भो त, विहे त रुपवती सँगै गर्ने हो भन्दै हिड्ने धेरै होलान् ।बढ्दो खुलापन, सुचना प्रविधिको विस्तार र पश्चिमी संस्कृतिको प्रभावका कारण आजभोली प्रेम विवाहको चलन बढ्दै गएको छ । सुचना र सञ्चार प्रविधिको विस्तारसँगै सामाजिक सञ्जालबाट प्रेम सम्बन्ध राखेर विहे गर्नेहरु धेरै छन् । कलिलो उमेरमै विहे गर्ने र एकाध वर्ष नहुँदै सम्बन्ध विच्छेद गर्नेहरुको आँकडा अहिले पनि ठुलो छ । प्रेमलाई आकर्षण र वासनाको विषय ठान्दा यस्ता समस्याहरु प्रकट भएका हुन् । प्रेम वासना नभै उपासना हो, प्राप्ती नभै त्याग हो । वासनाको उत्कर्ष प्रेमको हत्या हो । प्रेम समर्पण एवं विश्वासको उच्चतम सम्बन्ध हो । प्रेम पवित्रता, ममता र वात्सल्यको शीतल छायाँ हो, संघर्ष, साहस, शौर्य र स्वाभिमानको सम्मान हो ।

आफ्नो चर्चित पुस्तक खुशीमा विजय पाण्डे भन्छन् : ‘प्रेम भनेको अपेक्षारहित रुपले दिने भावना र क्रियाको नाम रहेछ । मैले यति गरेवापत उसले मलाई कति फर्कायो भन्ने हिसावकिताव मनमा आउने वित्तिकै बुझ्नुस् तपाई प्रेममा होइन, कुनै ‘विजनेस डिल’ मा हुनुहुन्छ ।
प्रेमलाई यसरी अथ्र्याउनेहरु युगौयुग सम्बन्धलाई जीवित राख्न सक्छन् । प्रेमलाई सस्तो वस्तु ठान्नेहरु ‘इगो हर्र्टु वा ‘मिसविहेव’ को वहानामा सम्बन्धलाई सजिलै तिलाञ्जली दिन तयार हुन्छन् ।

अहिले देखिएको सम्बन्ध विच्छेदको बढोत्तरी त्यसैको परिणाम हो ।जरुरी छैन, प्रेम भनेको ‘फस्ट लुक’मै  हुनुपर्छ । एकै नजरमा मन परेर गरेको प्रेम विवाह भन्दा आफन्तले वरवधु खोजेर अभिभावक र आफन्तको रोहवरमा वैदिक विधि पुरा गरेर सात फेरो लगाई लगनगाठो कसेर गरेको विहे शक्तिशाली र टिकाउ हुन्छ, सम्बन्ध साँचो र प्रगाढ हुन्छ । यसो भनेर मैले प्रेम विवाहलाई तुच्छ ठानेको पटक्कै होइन ।

अभिभावकले नस्विकार्दा समेत कतिपय फरक भनिएका ‘जात’ का युवायुवतीहरुले प्रेम सम्बन्ध मार्फत अन्र्तजातिय विवाह गरेका छन् । सामाजिक विभेदको पर्खाल भत्काएर मान्छेको कुनै जात छ भने, ‘मानवता’ नामको एकल जात छ भनेर तथ्य प्रस्तुत गर्नेहरु महान् आत्मा हुन्, मानवताका हिमायती हुन्, सम्मानका हकदार हुन, श्रद्धाका पात्र हुन् ।खैर, मंसिर लागेको छ । विहेको तामझाम शुरु भैसकेको छ, वजारका कपडा पसल र गहना पसल भरिभराउ छन् । आफु चैँ यसपाली कसको विहे होला र भोज खान पाइएला भनेर बसेको छु । ए साच्ची, तपाईँको विहे भो ? मंसिर लाग्यो त, कहिले हो भोज खुवाउने ?

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड