विपन्नलाई उकास्न मौरीसहितको घार, एउटै घार मौरीले पनि राम्रो आम्दानी लिन सकिने — OSNepal

विपन्नलाई उकास्न मौरीसहितको घार, एउटै घार मौरीले पनि राम्रो आम्दानी लिन सकिने

LC (KTM) November 22, 2021 0

तनहुँ, ६ मंसिर – आय आर्जनमा जोड्दै आत्मनिर्भर बनाउन भिमाद नगरपालिकाले लक्षित समूहलाई मौरीसहितको घार वितरण गरेको छ । ‘उपमेयरसँग लक्षित समूह’ कार्यक्रम चलाएर नगरपालिकाले मौरीसहितको घार वितरण गरेको हो ।

नगरभर रहेका अशक्त, अपांग, दलित, एकल र विपन्न महिलाको आय आर्जन बढाउने उद्देश्यले मौरीको घार वितरण गरेको उपमेयर शारदा खनालले बताइन् । नगरवासीलाई जहाँ पायक पर्छ त्यही लगेर मौरी घार वितरण गरिएको छ ।

लक्षित समूहलाई राज्यको पहुँचमा हामी पनि छौँ भन्ने महसुस गराउनलाई ‘उपमेयरसँग लक्षित समूह’ कार्यक्रम चलाएको खनालले बताइन् ।‘एक/दुई वर्ष हामीले नि:शुल्क मौरीको घार वितरण गर्‍यौ। त्यतिबेला लगेका घारमा आम्दानी नहुनेले मौरी राख्न नसकेर थन्क्याइएको पाइयो । त्यसैले यतिबेला हामीले मौरीसहितको घार उपलब्ध गराएका हौं,’ उनले भनिन् ।

एउटै घार मौरीले पनि राम्रो आम्दानी लिन सकिने उनको विश्वास छ । नगरवासी सबैलाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउने लक्ष्य नगरपालिकाले लिएको उनको भनाई छ ।

गत आर्थिक वर्षदेखि भिमादमा ‘उपमेयरसँग लक्षित समूह’ कार्यक्रम सुरु भएको हो । पहिलो वर्ष लक्षित समूहमा पर्ने ४८ जनालाई पनि मौरीसहितको घार वितरण गरेको पशु सेवा शाखाका प्रमुख मुक्ति पौडेलले बताए । पाँच लाख रुपैयाँ कार्यक्रम सञ्चालन गर्न नगरपालिकाले बजेट विनियोजन गरेको थियो ।

यस वर्ष पनि पाँच लाख रुपैयाँ विनियोजन गरेर लक्षित समूहमा परेका ४९ जनालाई मौरी घार वितरण गरिएको हो । नगरपालिकाले मौरीसहितको एउटा घारलाई १० हजार रुपैयाँमा खरिद गरेको पौडेलले जनाए । मौरी पालनबाट राम्रो आम्दानी लिएर एउटै घारबाट पनि बिस्तार गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर