मालिका गाउँपालिकाको न्यायिक समितिद्वारा १३२ मुद्दा फस्र्योट — OSNepal

मालिका गाउँपालिकाको न्यायिक समितिद्वारा १३२ मुद्दा फस्र्योट

LC (KTM) December 06, 2021 0

म्याग्दी, २० मङ्सिर -जिल्लाको मालिका गाउँपालिकाको न्यायिक समितिले हालसम्म १३२ मुद्दा फस्र्योट गरेको छ । मालिकाको न्यायिक समितिमा जिल्लाको सबैभन्दा धेरै मुद्दा दर्ता र फस्र्योट भएको हो । आर्थिक वर्ष २०७४÷७५ देखि २०७८÷७९ को कात्तिक महिनासम्म १३६ वटा मुद्दा दर्ता भएकोमा १३२ वटा मुद्दा फस्र्योट गरेको समितिका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले बनाउनुभयो । “अधिकांश मुद्दाका दुई पक्षबीच मेलमिलाप गरेर समाधान गरिएको छ”, उहाँले भन्नुभयो, “धेरैजसो पारिवारिक, घरजग्गा र लेनदेन सम्बन्धी मुद्दा आउँछन् ।” आर्थिक वर्ष २०७४÷७५ का ६० र २०७५÷७६ मा ५६ वटा मुद्दा दर्ता भएकोमा सबै मुद्दा सोही वर्ष फस्र्योट भएका थिए ।

२०७६÷०७७ मा दर्ता भएका ५३ मध्ये ५२, २०७७÷७८ का ३२ मध्ये २२ वटा फस्र्योट भएका थिए । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा चार वटा दर्ता भएकोमा दुई वटा फस्र्योट भएका छन् । बिटालुको संयोजकत्वमा दोरण शेरचन र भीम पुन सदस्य रहेको न्यायिक समितिले परेका उजुरीको दुवै पक्षलाई छलफल गराई विवाद समाधान गराउँदै आएको छ । मालिकामा ३६ मेलमिलापकर्ता छन् ।

स्थानीयस्तरमै न्यायिक काम हुँदा अदालत र प्रहरीमा धाउनुपर्ने समय र त्यहाँ जाँदा हुने खर्च बचेको सेवाग्राहीले बताएका छन् । न्यायिक समितिको इजलास स्थापना गरे पनि कानूनी विशेषज्ञको आवश्यकता खड्किएको उपाध्यक्ष बिटालुले बताउनुभयो ।

यसैगरी बेनी नगरपालिकाको न्यायिक समितिले गत वर्ष १९ वटा उजुरी परेकोमा १७ वटाको फैसला गरेको छ । मङ्गला गाउँपालिकाले गत आर्थिक वर्षमा ७३ वटा उजुरी दर्ता भएकोमा ६६ वटा फैसला भएको र यस वर्ष दर्ता भएका छ वटा मुद्दा फस्र्योटको क्रममा रहेको छ । रघुगङ्गाकी उपाध्यक्ष कमला तिलिजाले गत वर्ष नौवटा उजुरी दर्ता भएकोमा पाँच वटा मेलमिलाप भएको, दुई अदालतमा पठाइएको र दुई यस वर्षलाई जिम्मेवारी सरेको जानकारीदिनुभयो । उहाँले इजलास नहुँदा न्यायिक समितिको कामकाज प्रभावित बनेको बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर