पड्के रोग नियन्त्रणका लागि गाईलाई खोप लगाउन थालियो — OSNepal

पड्के रोग नियन्त्रणका लागि गाईलाई खोप लगाउन थालियो

LC (KTM) January 05, 2022 0

तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा पड्के रोग नियन्त्रणका लागि गाईलाई खोप लगाउन थालिएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले त्यस क्षेत्रमा पड्के रोग नियन्त्रणका लागि खोप लगाउन थालेको हो । याम्पाका किसानले पालेको गाई मर्न थालेपछि विज्ञ केन्द्रले रगतको नमूना परीक्षणका लागि काठमाडौँ पठाएको थियो । ती गाई पड्के रोगका कारण मरेको पुष्टि भएपछि नियन्त्रणका लागि आजदेखि खोप लगाउन थालिएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । स्थानीयवासी अजित न्यौपानेको पाँच, गणेश थापाको तीन र काशीनाथ भट्टराईको दुई वटा गाई मरेको थियो । गाई मरेसँगै पड्के रोगको शङ्का गरिएको थियो ।

“केन्द्रबाट खोप मगाएर नियन्त्रणका लागि खोप अभियान सुरु गरेका छौँ, गाई मरेका फार्मका ४३ वटा गाईलाई पड्के रोग विरुद्धको खोप लगाउँछौ,” डा श्रेष्ठले भन्नुभयो । खोप लगाउनका लागि पशु प्राविधिक पिपिई लगाएर फार्ममा पुगेका छन् ।

यहाँका गाईलाई पड्केसँगै खोरेत रोग पनि देखिएको छ । त्यसको नियन्त्रणका लागि पनि पहल भइरहेको डा. श्रेष्ठले बताउनुभयो । “खोरेत देखिएकाले पनि समस्या भएको छ, केही गाई बिरामी परेका छन्,” उहाँले भन्नुभयो । पड्के सबै प्रकारको घरपालुवा पशु साथै मानिसमासमेत लाग्ने सबैभन्दा डरलाग्दो सरुवा रोग हो । यो रोग ‘ब्यसिलस एन्थ्राशीश’ नमाक जीवाणुबाट लाग्छ ।

खोरेत रोग देखिएपछि पशुबस्तुको आवतजावत र ओसारपसार बन्द

तनहुँको भीमाद नगरपालिकामा खोरेत रोग देखिएपछि नगर क्षेत्रभित्र पशुको आवतजावत र ओसारपसार बन्द गरिएको छ । भीमाद नगरपालिका–८मा खोरतेसँग मिल्दोजुल्दो लक्षण देखिने गरी रोग देखा परेकाले पुस १३ गतेदेखि एक महिनाका लागि पशुको आवतजावत र ओसारपसार बन्द गरिएको हो ।

नगरप्रमुखस्तरीय निर्णय अनुसार खोरेत रोग लाग्ने गाईभैँसी, भेडाबाख्रा र बङ्गुरसुङ्गुरको ओसारपसार पूर्ण रुपमा बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले बताउनुभयो । उहाँका अनुसार रोग निदानका लागि नमूना पठाइसकिएको छ ।

नगरपालिकाले खोरेत रोग नियन्त्रणमा सहयोग पु¥याउन अनुरोध गरेको छ । फार्म, गोठमा जैविक सुरक्षाका उपाय अवलम्बन गर्न, अनावश्यक रुपमा अरुको फार्म, गोठमा नजान, गोठको काम गर्दा लगाएको लुगाकपडा र जुत्ताचप्पल अरु बेलामा प्रयोग नगर्न, फार्म, गोठमा पालिएका पशुबस्तुमा कुनै पनि किसिमको स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकैको पशुसेवा केन्द्रमा खबर गर्न र नियमित रुपमा फार्म, गोठ वरपर, चुन, साइट्रिक, एसिड वा भिर्कोन छर्न आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर